भत्ताको सास्ती !

226
मकवानपुरको कैलाश गाउँपालिका–२ की ८२ वर्षीया सीता थिङलाई बोकेर वडा नम्बर १ खोलाखर्कतर्फ लगिँदै । तस्बिर : अन्नपुर्ण

काठमाडौं ।  सरकारले वृद्धवृद्धाको ‘सामाजिक सुरक्षा’का लागि भत्ता दिँदै आएको छ। समयानुकूल बढाउँदै पनि लगेको छ। तर, त्यही भत्ता लिन बैंक पुग्दा कतिपय बुवा–आमाले भोग्ने सास्ती भने देखेको छैन।

गाउँतिर बैंक टाढा हुन्छ। हिँडेर जानुपर्छ। सबैको लिने याम एउटै हुन्छ। बैंक गयो, भीड हुन्छ। कोरोनाको यस्तो महामारीमा ठेलमठेल चल्छ। कसरी जोगिने, त्राहिमाम हुन्छ।

यस्तो कष्ट दिएर पनि ‘सामाजिक सुरक्षा’ हुन्छ र ? 
मकवानपुरको राक्सिराङ–७ काँकडाकी पातलीमाया चेपाङले गत कात्तिक पहिलो साता तीन दिन बैंकमा लाम लागेर भत्ता बुझिन्। उनी त्यसपछि भत्ता लिन गाउँपालिका केन्द्र चैनपुरस्थित बैंकमा गएकी छैनन्। काँकडास्थित गाईबाङबाट चितवनको भण्डारा हुँदै मकवानपुरकै मनहरी बजारबाट चैनपुर पुग्नुपर्छ।

तत्कालीन गाविस सचिवले घर–घरमा गएर भत्ता वितरण गर्दै आएका थिए। तर, नगद वितरण गर्दा सम्बन्धित व्यक्तिको हातमा नपरेको गुनासो बढेको भन्दै सरकारले बैंकमार्फत मात्र भत्ता दिने निर्णय गरेको हो। ‘पहिला नै सजिलो थियो। अहिले गाउँपालिका भएसी हामीले धेरै दुःख पायौं’, राक्सिराङ–१ भाबरकी ७७ वर्षीया ठूलीमाया मोक्तान भन्छिन्, ‘मर्ने बेला सरकारले दुःख दियो।’

गाउँपालिकाले बैंकलाई गाउँ–गाउँमा गएर भत्ता वितरण गर्न प्रस्ताव गरे पनि सम्भव नभएपछि यस्तो समस्या आएको अध्यक्ष राजकुमार मल्ल बताउँछन्।

कैलाश–२ की ८२ वर्षीया सीता थिङ हिँड्डुल गर्न सक्दिनन्। उनको जीवन निर्वाह वृद्धभत्ताबाटै भइरहेको छ। भत्ता लिन भने उनलाई बोकेर लैजानुपर्छ। ‘भत्ता लिँदाको दुःख सम्झिँदा त नजाऊँजस्तो लाग्छ’, कैलाश–१ स्थित खोलाखर्क झरेकी थिङले भनिन्, ‘पैलाभन्दा धेरै दुःख पायो। पैसा लिन आफैं जानुपर्ने तर हिँडेर जान सक्दिनँ।’

मकवानपुरका १० स्थानीय तहमध्ये कैलाश गाउँपालिकाले मात्रै सामाजिक सुरक्षा भत्ता वितरण गर्न घुम्ती शिविर सञ्चालन गर्र्छ। घुम्ती शिविर केन्द्रमा पुग्न पनि कतिपय गाउँबाट एक दिनसम्म हिँड्नुपर्छ।

‘हाम्रो गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता लिने करिब १८ सय जना छन्। तर, बैंकमा आएर भत्ता लिने १० प्रतिशतजति पनि पुगेन’, गाउँपालिका अध्यक्ष टंक मोक्तान भन्छन्।

जाजरकोटको छेडागाड–३ दशेराकी ८१ वर्षीया पानसरी थापालाई हिँड्डुल गर्न गाह्रो हुन्छ। आँखाले ठिम्याउन सकस पर्छ। त्यसमाथि हस्ताक्षर गर्न जान्दिनन्। तर, वृद्धभत्ता लिन बैंकमै जानुपर्छ। बैंक गाउँमा छैन। आफन्तले उनलाई सात घण्टाको बाटो बोकेरै थलह बजार पुर्‍याए। बैंकमा भीड हुँदा उनले भत्ता लिन हैरानी भोग्नुपर्‍यो। आजको अन्नपुर्ण पोष्टमा खबर प्रकाशित छ ।