सरकारमा सहभागी हुन माधव नेपाललाई २२ सांसदहरूको दबाब

148

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई उनीनिकट सांसदले सरकारमा सहभागी हुन दबाब दिएका छन् । नेपालसँग बुधबार भएको छलफलमा सांसदहरूले सरकारमा सहभागी हुनुपर्नेमा जोड दिएका हुन् । तर, नेपालले भने सांसदको कुरा सुने पनि कुनै प्रतिक्रिया नदिएको सांसद मेटमणि चौधरीले जानकारी दिए ।

एमालेका २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । देउवालाई विश्वासको मत नदिएका नेपालनिकट सांसदहरू भने एमाले एकताको अभियानमा लागेका छन् ।

बुधबार मात्रै नेपालले सत्तागठबन्धनको बैठकले नेता डा। विजय पौडेललाई पठाएका थिए । गठबन्धन बैठकले ढिलो नगरी मन्त्रिपरिषद् विस्तार गर्ने निष्कर्ष निकालेको छ ।
वरिष्ठ नेता नेपालले अझै पनि आफू पार्टी एकताको पक्षमा रहे पनि केपी ओलीबाट त्यो अपेक्षा नगरेको सुनाएका थिए । नेपाल आफ्नै दोस्रो तहका नेताहरूको कारण दबाबमा देखिएका छन् । २२ सांसदको भेलाले सरकारमा जाने लगायतका निर्णय गर्ने जिम्मा माधव नेपाललाई नै दिएको छ ।