कांग्रेस तरुण दलजस्तो तीन जनामा सीमित नहोस् : शेखर कोइराला

298

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली कांग्रेस तरुण दलको हैसियतमा पुग्ने जोखिम आफूले देखिरहेको बताएका छन्। उनले कांग्रेस पार्टी त्यस्तो अवस्थामा नपुगोस् भनेका छन्।

‘सभापतिजी अहिले पनि भनिरहनुभएको छ कि १६ भदौमा महाधिवेशन उद्घाटन होस् भनेर,’ उनले भने, ‘म त्यो सम्भावना देख्दिनँ।’

शनिबार नेपाली कांग्रेस सिन्धुपाल्चोक कार्यसमितिले राजधानीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै कोइरालाले यस्तो बताएका हुन्।

वडा, क्षेत्रलगायत अरू सबै चुनावहरू नभएको अवस्थामा १६ भदौमा महाधिवेशन उद्घाटन गर्नु भन्नु तरुण दलको महाधिवेशनजस्तो हुने उनले बताए

‘तरुण दलको पनि महाधिवेशन उहाँले उद्घाटन गर्नुभयो, तर आज तरुण दल तीन जनामा सीमित भएको छ,’ कोइरालाले भने, ‘म झस्किरहेको छु, कारण यो छ कि नेपाली कांग्रेसको अवस्था पनि त्यस्तो त हुँदैन? त्यो नहोस्।’

कोइरालाले महाधिवेशन हुन वडाबाट क्षेत्रीय अधिवेशन हुँदै प्रतिनिधि चयन हुनुपर्ने बताए। त्यो नभएको अवस्थामा महाधिवेशन सम्भव नहुने बताए।

‘सभापतिजी पनि हुन्छ भन्नुहुन्छ, वरिष्ट नेता पनि त्यसै भन्नुहुन्छ, उहाँहरूले भनेपछि हामीजस्ताले विश्वास गर्नुपरंछ, तर म सम्भव देख्दिन, अरू तरिकाबाट अघि बढ्नुपर्छ।’

उनले त्यस्तो प्रक्रिया गरेर दसैं-तिहारभित्र महाधिवेशन सम्पन्न गर्नका लागि पनि भदौ १६ लाई चाहिँ गम्भीर रूपमै लिनुपर्ने बताए। उनले १६ गते कुनै न कुनै प्रक्रिया सुरू गरेर निर्वाचन आयोगलाई चिठी लेख्नुपर्ने बताए।