लायन्स क्लब काठमाडौँ समर्पणद्धारा खाद्यान्न, पोशाक र शैक्षिक सामाग्री सहयोग

115

काठमाडौँ, १६ साउन । काठमाडौँको बानेश्वरमा रहेको नयाँ नेपाल समाज केन्द्रलाई खाद्यान्न र लमजुङको अमरज्योती प्राथमिक विद्यालयलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । लायन्स क्लब अफ काठमाडौँ समर्पणले आज बानेश्वरमा आयोजना गरेको कार्यक्रममा केन्द्रमा बस्दै आएका बालबालिकाको लागि दाल, चामल, तेल, चाउचाउ, विस्कुट, थर्मसलगायतका सामाग्री सहयोग गरेको हो । यस्तै, लमजुङको राईनास नगरपालिका–८ स्थित पिपलटारीमा रहेको अमरज्योती प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोशाक र शैक्षिक सामाग्री सहयोग गरेको हो । कार्यक्रममा क्लबका अध्यक्ष लबेन्द्रसिंह मल्लले अभिभावक विहिन भएका बालबालिकाको उज्वल भविश्यका लागि बालआश्रमले खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो ।

क्लबका उपाध्यक्ष अखिल अग्रवालले लायन्स क्बलले सबै संस्थामार्फत सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो । लायन्स क्बल डिस्ट्रिक को चिफ एडभाइजर भीम पौडेलले सेवाको भावना बोकेर स्थापना भएको लायन्स क्बलले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ईञ्जिीनीयर पङ्कज जलानले युवाहरुलाई अगाडि बढाएमात्र देशको विकास हुने भएकाले युवालाई उचित शिक्षा प्रदान गर्न बालआश्रमलाई आग्रह गर्नुभयो । विस २०६४ सालमा स्थापना भएको बालआश्रमले सुरुमा आमाबाबु नभएका १३ बालबालिकालाई सेवा प्रदान गरेको थियो । अहिले ५५ बालबालिकालाई बालआश्रममा राखेर सेवा प्रदान गर्दै आएको नयाँ नेपाल समाज केन्द्रका अध्यक्ष कृष्णराज गुरुङले जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिका–३१ मा सञ्चालनमा रहेको उक्त बालआश्रममा सिन्धुपाल्चोक, नुवाकोट, काभ्रेपलाञ्चोक, धादिङलगायतका बालबालिका बस्दै आएका छन् । कार्यक्रममा अमरज्योती प्रावि लमजुङका प्रधानाध्यापक हरीमाया घिमिरेले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोशाक र शैक्षिक सामाग्री सहयोग गरेर ठूलो गुन लगाएको भन्दै लायन्स क्लब अफ काठमाडौँ समर्पणलाई धन्यवाद दिनुभयो ।

एक दशक पहिले काठमाडौँको सानेपामा स्थापना भएको उक्त लायन्स क्लबले गत वर्ष कोरोना सुरुवाती चरणमा २०० सिलिण्डरसहित ‘अक्सिजन बैँक’ स्थापना गरि समाजसेवा गर्दै आएको थियो । क्लबले कोरोनाको दोस्रो चरणमा ललितपुरको जावलाखेलमा ‘जे एण्ड जे कोभिड क्लिनीक’ स्थापना गरि गरिब तथा विपन्न व्यक्तिलाई निःशुल्क कोरोना परिक्षण मिलाएको क्लबका प्रवक्ता एवम् सदस्य विवेक शर्माले जानकारी दिनुभयो । क्लबले आगामी दिनमा पनि समाजसेवालाई निरन्तरता दिने प्रवक्ता शर्माको भनाई छ ।