घनश्याम पौडेल
अर्घाखाँची, १९ साउन । सुनचाँदी, किराना तथा ल्यापटप र मोबाइल पसलमा चोरी गर्ने ६ जनाको एक समूहलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँची पक्राउ गरेको छ।
पछिल्ला केही महिनायता अर्घाखाँचीको सन्धिखर्कमा चोरीका घटना बढ्दै गएपछि चोरी नियन्त्रणमा सक्रिय बनेको प्रहरीले विभिन्न मितिमा भएका चार वटा चोरीका घटनामा संलग्न व्यक्ति तथा चोरी भएका सामग्री समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक अम्मर थापाका अनुसार सामग्री चोरीमा संलग्न चार जना १७ वर्षमुनिका बालक रहेका छन्। त्यस्तै, चोरी गरिएका सामग्री लुकाएर रान्ने दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ।
थापाका अनुसार पक्राउ पर्नेहरूमा सन्धिर्खक ११ बस्ने २६ वर्षीय किशन नेपाली, १८ वर्षीय रोसन नेपाली रहेका छन् भने अरू चार जना नाबालक रहेको कारण पहिचान खुलाइएको छैन। पक्राउ परेका बालकहरु १७ वर्ष, १५ वर्ष, १३ वर्ष र १२ वर्षका एक एक जना रहेका छन्।
थापाले चोरी गरिएका सामग्री किसन नेपाली र रोसन नेपालीको घरबाट बरामद गरिएको जानकारी दिए। बरामद गरिएका सामग्रीमा २५ तोला चाँदी, दुइटा ल्यापटप, २५ वटा पुरानो मोबाइल, रिचार्ज कार्ड तथा किराना पसलबाट चोरी भएका विभिन्न ५० प्रकारका सामग्री छन्।
सन्धिखर्क नगरपालिका वडा नम्वर १ कौ बैंकरोडमा पसल गरी बस्ने बाबुराम नेपालीको पशलबाट २ वटा ल्यापटप, २५ वटा मोबाइल र १५ सयको रिचार्ज कार्ड चोरी भएपछि रिचार्ज कार्ड प्रयोग भएको नम्बरबाट चोर पत्ता लागेको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए । उनीहरूलाई चोरी मुद्दामा जिल्ला अदालत अर्घाखाँचीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान सुरू गरिएको थापाले जानकारी दिए।
उक्त समूहले गत साउन ३ गते सन्धिखर्क नगरपालिका ११ जोगिमारे बस्ने राजकुमार सुनारको सुनचाँदी पसलबाट २५ तोला चाँदी र १ वटा ल्यापटप चोरी गरेको थियो।
चोरी गर्ने समूहले साउन ५ गते सोही स्थानका हिम बहादुर सेजवाल र साउन ८ गते बुद्धिबहादुर सेजवालको किराना पसल तथा साउन १३ गते जोगिमारे घर भई हाल वडा नं. १ बैंकरोडमा ल्यापटप र मोबाइल पसल चोरी गरेको प्रहरीले जनाएको छ।