लुम्बिनीः पक्ष–प्रतिपक्षका आफ्नै बहुमत रहेको दावी, विमला ओली माओवादीमा

330

घनश्याम पौडेल
बुटबल, २० साउन । लुम्बिनी प्रदेश सरकारमा सत्ता परिवर्तनको निम्ती राजनितिक दलहरु दौडधुपमा रहेका छन् । सत्तापक्ष नेकपा एमालेले आफनो पक्षमा बहुमत रहेको दाबी गर्दै आएको छ । उता विपक्षी गठबन्धन काँग्रेस, माओवादी, जसपा र जनमोर्चाले पनि बहुमत रहेको भन्दै मुख्यमन्त्री शंकर पोख्रेल विरुद्ध तेस्रोपटक अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा मंगलबार दर्ता गराएका छन् ।

बुटबलमा रिपोर्टस क्लबले बुधबार गरेको साक्षात्कारमा नेकपा एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले प्रतिपक्षले सांसद किनबेच र प्रलोभनमा पारेर सत्ता हत्याउने खेलमा लागेको आरोप लगाएका छन् । प्रतिपक्षले संसद अमर डाँगीलाई डेढ करोडमा बार्गेनिङ गरिएको ठोकुवा गर्दै अर्का सांसद दृगनारायण पाण्डेलाई समेत प्रलोभनमा पारेर एमालेबाट राजिनामा दिन बाध्य पारेको ढकालले बताए ।

त्यस्तै ढकालले मुख्यमन्त्री संविधानको धारा १६८ (२) अनुसार बनेको सरकारबाट मुख्यमन्त्री शंकर पोख्रेलले राजिनामा दिएर एकल बहुमतको सरकार बनाउने बाटोमा १६८(१)अनुसार पुनःपोख्रेललाई मुख्यमन्त्रीमा नियुक्ती भएको बताए ।
सरकार गठनका लागी हामीसगँँ बहुमतको संख्या रहेको दाबी गर्दै विश्वासको मत लिने बताए । सांसद वलीको अवस्था किन सार्वजनिक हुन सकेको छैन भन्ने पत्रकारको जिज्ञासामा ढकालले भने उहाँ बिरामी भएको र नेपालगञ्ज स्थित अस्पतालमा उपचार भई रेष्टमा रहेको भन्दैे जानकारी दिए ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक फकुरुद्दीन खाँनले सत्तापक्षले जालझेल गरी सत्ताको आयु बढाउने र अराजक फैलाउने काम गरेको आरोप लगाए । सत्तापक्षले सांसद विमला ओलीलाई बन्धक बनाएर राखेको जिकिर गर्दै ओलीको जीवन रक्षाको माग गरे । उनले विपक्षी गठबन्धनमा बहुमत हुदाँ हुदै पनि जर्वजस्ती ढङ्गले मुख्यमन्त्रीले सपथ खाने काम काम गरे यसले संसदीय परिपाटीको नै खिल्ली उडाएको बताए । त्यस्तै खाँनले विपक्षी गठबन्धनको बहुमत संख्या पुगेको दाबी गर्दै अविश्वासको प्रस्ताव पेस गरेको जानकारी दिए ।

जनता समाजबादी पार्टी जसपा दलका नेता सहसराम यादबले अल्पमतमा रहेको सरकारले बिश्वासको मत लिन डराएर, संसदबाट भागेको आरोप लगाए । यादवले सत्ताको दम्भमा सांसदलाई प्रलोभनमा पारी विभाजित गर्ने काम गरेको बताए ।
राष्ट्रिय जनमोर्चाकी सांसद तारा जिसीले मुलुकका अन्य संसदीय अभ्यासमा कहिँ नभएको गलत कार्य गर्दै नैतिकता आधारमा सरकारले निकास दिनुपर्ने जिकिर गरिन् ।

विमला ओली माओवादीको सम्पर्कमा

केही दिनअघि एमाले प्रवेश गरेको भन्दै विज्ञप्ति निकाल्ने लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री ओली फेरि माओवादी केन्द्रको सम्पर्कमा गएकी छन् । पुर्व लुम्बिनी प्रदेशका मन्त्री तथा माओवादी केन्द्र संसदिय दलका नेता कुलप्रसाद केसीसँग सम्पर्कमा आई माओवादीमै रहेको उनले बताएकी छिन् ।

अहिले हाम्रा माननीय ज्यूहरुसँग सासंद वली सुरक्षित हुनुहुन्छ, उहाँलाई अब कुनै पनि अप्ठ्यारो पर्न दिने छैनौँ, माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष ओनसरी घर्तीले भनिन। उनी माओवादीको सम्पर्कमा आएको विषय गोप्य राख्ने भनिएपनि सूचना चुहिएपछि माओवादी सांसदहरुले भने आफुहरुलाई जानकारी नभएको बताउन थालेका छन्।

माओवादी संसदीय दलका एक सदस्यका अनुसार उनी आफैं पार्टीको सम्पर्कमा आएकी हुन्। विमलाले आफूलाई मुख्यमन्त्री कार्यालयमै राखिएको नेताहरुसँग बताएको माओवादी संसदीय दलका ती सदस्यले जानकारी दिए।
एमाले प्रमुख सचेतक ढकालले कार्यक्रममा आफुले पनि त्यस्तो सुनेको बताए। ’मैले पनि उहाँ माओवादीमा जानुभयो रे भन्ने सुनेको छु, तर कन्फर्म नभएको बताए ।

बिमला वली माओवादी केन्द्रसँग सम्पर्कमा आएसँगै विपक्षी गठबन्धनको बहुमत पुग्ने भएको छ । सदनमा अहिले ८३ सांसद कायम छन् । जसपाका ३ मन्त्री पदमुक्त भएकाले अहिले सत्तासीन एमालेसँग ३८ सांसद रहेका छन् । नेपाली कांग्रेस १९, नेकपा माओवादी केन्द्र १९ (सभामुख र बिमला वलिसहित), जनता समाजवादी पार्टी उपेन्द्र समूह ३ र राष्ट्रिय जनमोर्चा १ सांसदको गठबन्धनमा सभामुखसहित ४२ जना सांसद छन् ।

प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले प्रदेश सरकार संविधानको धारा १६८ को १ अनुसार रहेको र सरकारमा सहभागी अर्को दलका सांसदहरुको पद सर्वोच्चबाट तत्कालका लागि अन्तरकालीन आदेशबाट थमौती भएपनि अन्तिम फैसला आउन बाँकी रहेकाले अहिलेको माग अनुपयुक्त भएको बताएका हुन् ।

तर लुम्बिनी प्रदेश काँग्रेसका सचेतक निर्मला क्षेत्रीले ‘मुख्यमन्त्री शंकर पोख्रेलले विश्वासको मत ल्याउँन सक्ने अवस्था नभएकाले नयाँ सरकार गठनका लागी बाटो खोल्नुपर्ने बताईन ।’ लुम्बिनीमा विपक्षी गठबन्धनको बहुमत रहेको नेतृ क्षेत्रीले दाबी गरिन् ।