एमबीबीएस प्रवेश परीक्षामा सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान

312

काठमाडौँ । विश्व निकेतन माध्यामिक विद्यालय त्रिपुरेश्वरले एमबीबीएसएकीकृत प्रवेश परीक्षामा सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । विश्व निकेतन माविमा कक्षा ११ र १२ मा विज्ञान विषय लिएर उत्तीर्ण भएका विद्यार्थी आशिक झाले चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमबीबीएसपरीक्षामा सर्वोकृष्ट अङ्क हाँसिल गरेको भन्दै आज सम्मान गरेको हो ।

विस २०७७ सालमा विश्व निकेतन माविमा विज्ञानको वायोगुप्र लिएर उत्तीर्ण झाले पुतलीसडकस्थित ‘भाइब्रेन्ट एमबीबीएसइन्ट्रान्स प्रिपिरेशन सेन्टर’बाट भाइब्रेन्टको अनलाइन कक्षामार्फत र मोवाइल एपमार्फत अध्ययन गरेर सर्वोकृष्ट अङ्क ल्याउनुभएको हो । भाइब्रेन्ट विस २०६८ मा स्थापना भएको शैक्षिक संस्था हो । विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेल सरकारी विद्यालयमा पढेर एमबीबीएसपरीक्षामा सर्वोकृष्ट अङ्क ल्याउनु विद्यालयका लागि खुशीको कुरा भएको बताउनुभयो ।

काठमाडौँ महानगरपालिका–११ मा सञ्चालित विश्व निकेतन माविमा हाल तीन हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । भाइब्रेन्ट सेन्टरका अध्यक्ष केपी शर्माले शिक्षक र विद्यार्थीको मेहनत र लगनशीलताका कारण झा सर्वोकृष्ट विद्यार्थी बन्न पुगेको बताउनुभयो । सर्वोकृष्ट विद्यार्थी झाले २०० पूर्णाङ्कको परीक्षामा १८६ अङ्क प्राप्त गर्नुभएको थियो । चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित उक्त परीक्षामा देशभरका ११ हजार विद्यार्थी सहभागी भएका थिए ।