आफ्नै मृत्यु दर्ता खारेज गर्न अड्डा धाउँदै: ए बाबा, म जिउँदै हाजिर छु, अरू के प्रमाण चाहिने ?’

570

विराटनगर — मृत्युलाई खण्डन गर्ने प्रमाण के हो ? त्यो जीवन नै हो । यहाँका एक युवक आफू जीवित रहेको दाबी गर्दै सरकारी अड्डा लगातार धाइरहेका छन् तर उनको मृत्यु दर्ता खारेज हुन सकेको छैन । ‘म जिउँदै छु, लौ हेर्नुस् भनेर जतिपटक जिरह गर्दा पनि पार लागेन,’ मोरङ बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका सुभाष तामाङले हैरानी सुनाए ।

गल्तीले गरिएको ‘मृत्यु दर्ता’ सच्याउन सुभाषले प्रयास थालेको तीन वर्ष भएको छ । गाउँपालिका र जिल्लाबाट नसच्चिएपछि उनी गृह मन्त्रालयसम्मै पुगे । गृहले प्रमुख जिल्ला अधिकारी (सीडीओ) बाटै काम गराइमाग्नू भनेर पठायो । ‘सीडीओले कहिले यो मिलेन भन्छन्, कहिले त्यो मिलेन भन्छन्,’ सुभाषले भने, ‘ए बाबा, म जिउँदै हाजिर छु, अरू के प्रमाण चाहिने ?’ मृतक अभिलेखबाट नाम नहट्दा उनले नयाँ नागरिकताको प्रमाणपत्रसमेत पाउन सकेका छैनन् ।

रोजगारीका क्रममा साउदी अरब गएका बेला उतै मृत्यु भएको झूटो खबर आएपछि सुभाषको मृत्यु दर्ता भोजपुरको साविक कुदाकाउले–९ (हालको षडानन्द नगरपालिका) मा २०७२ साउन ६ गते भएको थियो । अनलाइन प्रणालीले उनको नागरिकता र राहदानीको विवरणमा समेत मृत्यु भइसकेको उल्लेख गरेको छ जसका कारण सुभाष समस्यामा परेका हुन् ।

मोरङको बेलबारीमा बसाइँ सरेका उनलाई हाल भोजपुरको षडानन्द नगरपालिका र बेलबारी नगरपालिकाको वडा कार्यालयले जीवित भएको प्रमाणपत्र भने दिएका छन् । सुभाषले यसअघि भोजपुरको कुदाकाउलेबाट २०६० जेठ २९ गते ४८४१–११–२५५४ नम्बरको नागरिकता लिएका थिए । नागरिकता लिएलगत्तै राहदानी बनाएर उनी साउदी अरब गए । चार जना साथी २०७२ असार २५ गते ट्याक्सीमा सवार भएर एटीएम बुथ जाने क्रममा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो । सिकिस्त दुईलाई हेलिकप्टरमार्फत अब्दुलअजिज अस्पताल पुर्‍याइयो । भोलिपल्ट अस्पतालमा एक जनाको मृत्यु भयो । अर्का सिकिस्त घाइते कोमामा थिए । कोमामा रहेका ती व्यक्ति बागलुङ ढोरपाटन–६ का तेजेन्द्र भण्डारी भएको सबैको अड्कल थियो ।

उनीहरू काम गर्ने हुन्डाईका प्रतिनिधिले अस्पताल पुगेर एउटा शव सुभाषको भएको किटानी गरिदिए । त्यसपछि अस्पतालले सुभाषको मृत्यु भएको प्रमाणपत्र बनाइदियो । कम्पनीले राहदानीमा समेत मृत्यु भएको छाप लगाएर २८ दिनपछि शव नेपाल पठाइदियो । ‘शव नेपाल आएपछि मृत्यु दर्ता गरेर बुझ्न आउनू भनेर खबर आयो,’ उनकी पत्नी सन्तोषीले भनिन्, ‘त्यसपछि मृत्यु दर्ता प्रमाणपत्र लिएर शव बुझ्न काठमाडौं गयौं, शव बुझेर लक्ष्मीमार्ग ल्याएर अन्त्येष्टि र काजकिरिया पनि गर्‍यौं ।’

अन्त्येष्टि गरेको तीन महिनापछि अस्पतालको कोमामा रहेका बिरामीको होस् फर्कियो । चिकित्सकले उनलाई बाहिर निकालेर अनुहारको पट्टी खोले । त्यसबेला सुभाषका भान्जा भूपाल, भाइहरू भविन्द्र र अमर तामाङ साउदीमै थिए । उनीहरूले अस्पताल पुगेर हेर्दा सुभाष जिउँदै रहेको पाए । नेपालमा परिवारले बुझेको शव तेजेन्द्र भण्डारीको भएको निर्क्योल गरेर भविन्द्रले घरमा फोन गरे । ‘फोन गरेर सुभाष जिउँदै छ भन्दा सुरुमा कसैले पत्याएनन्,’ उनले भने, ‘तीन दिनपछि सुभाष बोल्न सक्ने भए र भाउजूसँग भिडियो कल गरेपछि मात्र पत्याए ।’

डेढ वर्षमा पूर्णरूपमा स्वस्थ भएपछि सुभाषलाई कम्पनीले नेपाल पठायो । नेपाल आएपछि सुभाष बुबाआमा बस्ने भोजपुरको कुदाकाउले पुगे । मृत्यु भएको मानेर काजकिरिया गरिसकेको फर्कंदा गर्नुपर्ने स्थानीय रीतअनुसार उनी त्यहाँ पुगेपछि आमा बिवामायाले बच्चा जन्मिँदाको बेथा लागेको अभिनय गरिन् । ‘त्यसपछि म जन्मिएको मानेर न्वारान भयो,’ सुभाषले सुनाए । लक्ष्मीमार्गमा भएकी पत्नी सन्तोषीलाई बोलाएर उनले पुनः सिन्दूर–पोते लगाइदिई विवाह गरे ।

दुई सन्तानका पिता सुभाष पुनः विदेश जाने तयारीमा छन् । तर नागरिकता नहुँदा राहदानी बनाउन पाएका छैनन् । जिल्ला प्रशासनका अनुसार मृत्यु दर्ता भइसकेका व्यक्तिलाई नागरिकता दिन नमिल्ने भएकाले सुभाषले झमेला खेप्नुपरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ‘मृत्यु दर्ता भइसकेका व्यक्तिलाई पुनः नागरिकता दिने कानुन छैन,’ प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले भने, ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले उनको मृत्यु दर्ता रद्द गरेर पुनः नागरिकता दिने तयारी गर्दै छ, अब उनले धेरै कुर्न नपर्ला । आजको कान्तिपुरमा खबर प्रकाशित छ ।