बुटवल, २८ साउन । लुम्बिनी प्रदेशको दोस्रो मुख्यमन्त्रीको रूपमा माओवादी केन्द्रका कुलप्रसाद केशीले सपथ लिएका छन्। उनले प्रदेश प्रमुख अमिक सेरचन समक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन।
२०७४ सालमा सम्पन्न प्रदेश सभा निर्वाचनमा रोल्पाको निर्वाचन क्षेत्र ‘क’ बाट बाम गठबन्धनबाट निर्वाचित केसीले नेपाली काङ्ग्रेसका शेरबहादुर महरालाई ८ हजार १ सय ११ मतान्तरले पराजित गरेका थिए।
२०२७ साल माघ १० गते बुबा टीकाराम केसी र आमा रजमता केसीका ५ भाई छोरा मध्ये कान्छो छोराको रुपमा उनी जन्मिएका थिए। नेकपा मशाल निकट बिद्यार्थी संगठनबाट राजनीतिमा प्रवेश गरेका उनी २०४६ देखि २०४७ पार्टीको विद्यार्थी संगठनको दाङ जिल्ला सचिवको जिम्मेवारीको रुपमा काम गरेका थिए।
केसी जनमुक्ति सेनाको तेस्रो डिभिजन कमिसार हुदै पार्टीको नारायणी–भेरी –कर्णाली–सेती र महाकाली ब्यूरो इन्चार्चको जिम्मेवारी समेत सम्हाले। शान्ति प्रक्रिया सुरु भएपछि सेना समायोजनको क्रममा पार्टीले उनलाई वाइसिएलको इन्चार्जको जिम्मेवारीमा थिए। २०५९ सालमा ,एकीकृत माओवादीको पोलिटव्यूरो सदस्य चुनिएका थिए । केसी माओवादी केन्द्रका सचिवालय सदस्य छन्।
माओवादी जनयुद्धका कमाण्डरको समेत जिम्मेवारी पूरा गरेका थिए । माओवादीमा धेरै जसो अवधी राम बहादुर थापा बादलसंग निकट रहेर काम गरेका केसी माओवादी भित्र सोनामको नामबाट परिचित छन्।
२०४७ सालमा प्राथमिक तहको स्थायी शिक्षक बनेका केसीले २०४९ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोईराला रोल्पा सदरमुकाम लिबाङ पुगेको बेला कालोझण्डा देखाएपछि जागिर गुमाएका थिए।
जागिर गुमेपछी सार्वजनिक मुद्दा लागेका केसीले २०५० देखि नै अर्धभूमिगत बनेर पुर्णकालिन राजनितीमा होमिएका थिए। माओवादीले जनयुद्धको शुरुवात गरेको रोल्पाको होलेरी प्रहरी चौकीमा गरिएको आक्रमणमा पनि केसी संलग्न थिए। जनयुद्ध कालमा केसीले साढे दुई वर्ष जेलजीवन बिताएका थिए।
केसि २०५२ फागुन १ देखि माओवादीमा भूमिगत बनेका केसीकी पत्नी ताराकुमारी घर्ती पनि जनयुद्धमा होमिएकी थिईन। सोही कारण उनी २०६४ को पहिलो संविधान सभामा समानुपातिक सभासद बनेकी थिइन् । केसी दम्पतिका एक छोरी र एक छोरा छन्।
जनयुद्धमा लाग्दा अध्ययनलाई अगाडी बढाउन नसकेका केसीले प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेका छन्। तत्कालीन अवस्थामा माओवादीबाट अलग हुँदा मोहन वैद्य समुहमा लागेका केसी रामबहादुर थापा बादलको समूह सँगै पुनः माओवादी केन्द्रमा फर्किएका थिए।
केसीले औपचारिक रुपमा पार्टीको सदस्यता भने २०४७ सालमा प्राप्त गरे । २०४८ मा पार्टीले एरिया सेक्रेटरीको जिम्मेवारी दियो । २०६० सालमा पार्टीको बैठकको लागि भारत जाँदा केसी र उनकी पत्नी तारा कुमारी घर्ती संगै गिरफ्तारीमा परेर ३ वर्ष ३ महिना र श्रीमती ताराले ३ वर्ष भारतको बक्सर जेलमा बन्दी जिवन बिताएका थिए।
यस अघि २०७८ बैसाख ६ गते सम्म शंकर पोखरेल नेतृत्वको लुम्विनी प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्री बनेका उनी नेपाली कांग्रेस जसपा सहितका दलहरुको संयुक्त गठबन्धनको प्रस्तावमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।