काठमाडौ ।

विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति अन्तर्गतको काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा २०७८ साउन ३० गते शनिबार ए वान पार्टी प्यालेस चावहिलमा जिल्ला भेला सम्पन्न भएको छ । भेलामा देशको समसामयिक धार्मिक सामाजिक अवस्था र विश्व हिन्दु महासंघले खेल्नुपर्ने भूमिकाका विषयमा वैचारिक विमर्श भएको थियो । काठमाडौ जिल्ला कार्यसमिति सभापति रेखा अर्यालको सभापतित्व र विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका कार्यकारी सभापति डा रामचन्द्र अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमका वक्ताहरुमा राष्ट्रिय समितिका उपसभापति प्रवीण घिमिरे, महासचिवद्वय अरुणकुमार पाण्डे र गणेशप्रसाद न्यौपाने, अन्तर्राष्ट्रिय समिति सदस्य मिना सुवेदी, राष्ट्रिय समिति सचिवद्वय अर्चना शर्मा र रामचन्द्र तिवारी, मातृशक्ती विभाग प्रमुख प्रा भूमा पाण्डे, विश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेशजंग शाह र सचिव घनश्याम विष्ट लगायत हुनुहुन्थ्यो ।                                             प्रमुख अतिथि डा अधिकारीले विश्व हिन्दु महासंघ काठमाडौ शाखामा नवनियुक्त सभापति रेखा अर्याल सहित जिल्ला कार्यसमिति सदस्यहरु र नगर सभापतिज्यूहरुलाई शपथ खुवाउँदै सबै मिलेर महासंघको उद्देश्य हासिल गर्न अघि बढ्नुपर्ने बताउनुभयो । उपसभापति प्रवीण घिमिरेले आफू बाग्मती प्रदेशको प्रमुख भएकोले संघीय राजधानी काठमाडौ उपत्यका भित्र सक्रिय कार्यसमिति बनाउन आफूले जोड दिएको बताउँदै गुठी विधेयकको विरोधमा उपत्यका जसरी जागेको थियो सनातन हिन्दु राष्ट्रको आन्दोलनमा त्यसैगरी जाग्नुपर्ने बताउनुभयो । महासचिव अरुणकुमार पाण्डेले महासंघको स्थापनादेखिको ऐतिहासिक विषयमा चर्चा गर्नुहुँदै महासंघका सदस्यहरुले आलस्य र अहंकार त्याग गरेर संगठन निर्माण र कार्यक्रम आयोजनाको गतिलाई संगसंगै अघि लैजानुपर्छ भन्नुभयो । पाण्डेले कोविड महामारीमा सरकारले सार्वजनिक कार्यक्रम नगर्न निर्देशन जारी गरे पनि हामीले समयको माग र भगवानको निर्देशन पालना गर्दै कार्यक्रम आयोजना गर्नुपरेको बताउनुभयो । अर्का महासचिव गणेशप्रसाद न्यौपानेले संघे शक्ति कलौ युगे भन्ने शास्त्रीय मान्यता पालना गर्दै विश्व हिन्दु महासंघको संगठन निर्माणमा सक्रिय रहनुपर्ने बताउँनुभयो । नेउपानेले यत्र नारी प्रपुज्यन्ते रमन्ते तत्र देवता भन्ने स्मृतिवचन अनुसार महिला नेतृत्वबाट नै सफलता मिल्ने कुरामा जोड दिनुभयो । अन्तर्राष्ट्रिय समिति सदस्य मिना सुवेदीले आफूले २०५७ सालदेखि हिन्दु नारी जागरणको क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको संस्मरण गर्दै काठमाडौ जिल्ला सभापतिमा नारीको नेतृत्व रहेकोमा खुशी व्यक्त गर्नुभयो । राष्ट्रिय समिति सचिव रामचन्द्र तिवरीले श्री पशुपतिनाथको मन्दिर तत्काल खुलाउन सरकारसंग माग गर्दै कोबिडको नाममा हिन्दु संस्कृति विनाश गर्न पाइदैन भन्नुभयो । अर्का सचिव अर्चना शर्माले नयाँ पुस्ताका बालबालिका घर परिवारबाटै परम्परा र संस्कृति विमुख बन्दै गएको साथै समाज नकारात्मक चिन्तनतर्फ अघि बढ्दै गएकोले विश्व हिन्दु महासंघको काँधमा ठूलो जिम्मेवारी रहेको बताउनुभयो । केन्द्रीय मातृशक्ती विभाग प्रमुख प्रा भूमा पाण्डेले सनातन हिन्दु राष्ट्रको लागि आफूलाई बलिदान दिनुपरे पनि अगाडि बढ्न सबैलाई उत्साह बढाउने मन्तव्य दिनुभयो । विश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेशजंग शाहले भगवान शिवको स्वरूप गोरखनाथ र गोरख संस्कृतिको चर्चा गर्दै अब संस्थापना हुने हिन्दु राष्ट्रमा हिन्दुत्वको संरक्षणका साथै देशको आर्थिक अनुहार बदल्ने योजना ल्याउनुपर्नेमा जोड दिनुभयो । शाहले गाईबाट प्राप्त हुने गव्यको औषधिय महत्व उजागर गर्दै रोगाक्रान्त विश्वलाई स्वस्थ बनाउन नेपालले विश्वलाई नेतृत्व गर्नुपर्छ भन्नुभयो ।                              कार्यक्रमका सभापति एवम् काठमाडौ जिल्ला कार्यसमिति सभापति रेखा अर्यालले विश्व हिन्दु महासंघको उद्देश्य अनुसार काम गर्ने प्रतिवद्धता जनाउँदै जिल्लामा सबैलाई समेटेर धर्मका लागि अगाडि बढ्ने बताउनुभयो । काठमाडौ जिल्ला कार्यसमिति सदस्य राजु सुनारको सुमधुर उद्घोषण र गोकर्णेश्वर नगरसभापती भरतप्रसाद चौलागाईंको स्वागत मन्तव्य रहेको कार्यक्रममा केन्द्रीय सचिव नेत्रनाथ पौडेल, विदुषीद्वय गार्गी र शाम्भवी चौंलागाईसहित जिल्ला कार्यसमिति सदस्यहरु, काठमाडौ महानगर सभापति सरला विश्वकर्माका साथै जिल्लाका अन्य नगर सभापतिज्यूहरु र समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।