अनन्तप्रसाद घिमिरे प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका दिन वैदिक सनातन धर्मावलम्बीहरुले निकै महत्त्वका साथ जनै पूर्णिमा एवम् रक्षा बन्धन पर्व मनाउने गरिन्छ। बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीहरुले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षा सूत्र (डोरो) बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षा सूत्र धारण गरेमा नकारात्मक तत्वबाट बच्न सकिने धार्मिक मान्यता रहिआएको छ। सत्ययुगमा दानवहरुले लखेटेका देवताहरुलाइ गुरु वृहस्पतिले रक्षासुत्र तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने शास्त्रीय मान्यता एवम् विश्वाससग यो पर्व जोडिएको छ ।

यसै कारण रक्षा बन्धन गर्ने बेलामा गुरु पुरोहितहरूले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्ष मा चलमाचल’ भनी रक्षा बन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहिआएको छ। मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षा बन्धन अर्थात् डोरो वैदिक मन्त्रोच्चारण गर्दै ब्राहृमण पुरोहितहरूले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । यसै दिन ब्राहृमण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवित) फेर्नुपर्ने विधान विभिन्न शास्त्रहरुमा उल्लेख गरिएको छ। यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर शुद्ध भएर बस्ने चलन पनि छ। यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ ।

स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी सप्त ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ । जनपूर्णिमाका दिन ११ थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।

नेपालको तराईक्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइबिच प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ। विगत केहिवर्ष यता जनैपूणिर्माको अवसरमा दिइदै आएको सार्वजनिक विदा काटिएको भएपनि यो वर्ष नेपाल सरकारले नै सार्वजनिक विदा घोषित गरेर हिन्दु धर्मावलम्बीहरुको आस्था र विश्वासको पर्व भएको पुष्टि गरेको छ। जय होस् ।।