सरकारको पहिलो प्राथमिकता नागरिकको सुरक्षा हो : गृहमन्त्री खाँण

91
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सरकारको पहिलो प्राथमिकता नागरिकको सुरक्षा रहेको बताएका छन् । सोमबार मन्त्रालयद्वारा आयोजित ‘गृह प्रशासन सुदृढीकरण सम्बन्धमा पूर्वपदाधिकारीहरूसँगको अन्तरक्रिया कार्यक्रम’मा बोल्दै गृहमन्त्री खाँणले नागरिकको अधिकार र जीवन रक्षा सरकारको पहिलो प्राथमिकता रहेको बताएका हुन् ।

उनले भने, ‘नागरिकको सुरक्षामा सरकार भम्भीर छ । सरकारको पहिलो प्राथमिकता नागरिकको सुरक्षा हो ।’ साथै, नागरिकको सुरक्षामा कुनै पनि कम्परमाइज नगर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका उच्च पदस्थ अधिकारीहरूलाई आग्रह समेत गरेका छन् ।

यसैगरी नेपाली भूमिमा विरोधी गतिविधि हुन नदिने पनि उनले प्रतिवद्धता जाहेर गरेका छन् । उनले भने, ‘हामीले संयुक्त राष्ट्र सँघको बडापत्रमा हस्ताक्षर गरेका छौं । तसर्थ हामी नेपाल भूमिभित्र नेपाली जनता र कुनै पनि मित्र राष्ट्र विरोधी गतिविधि हुन नदिन प्रतिबद्ध छौं । यो सरकारको स्पष्ट धारणा हो ।’

कोभिड–१९ महामारीबाट नागरिकलाई बचाउन ज्यान जोखिममा पारेर खटिएका सुरक्षाकर्मी र स्वास्थ्य कर्मचारीहरूलाई उनले हौसला प्रदान गरेका छन् । यसका लागि बजेट बढाउन पहल गर्न पूर्वप्रशासक, गृह प्रशासन र सुरक्षा निकायका प्रमुखहरूलाई उनले आग्रह गरे ।