भगवान श्रीकृष्ण र आजको सामाजिक/राजनीतिक परीवेश !

411

वेद प्रसाद सापकोटा

विश्वमा सबैभन्दा लोकपृय र धेरै भाषामा अनुवाद भएका धार्मिक पुस्तक मध्येको श्रीमद्भगवत गीताका मूल नायक भगवान श्रीकृष्ण मानिन्छन् । उनलार्इ हिन्दु परम्परा अन्तरगतका सबै सम्प्रदाय तथा पथका अनुयायीहरूले अत्यन्तै श्रद्धा गर्दछन् । हिन्दु धर्मशास्त्रहरूका अनुसार भगवान श्रीकृष्ण यस पृथ्वीतलमा अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिकाहरूबाट थिचोमिचोमा परेका सम्पूर्ण मानवको रक्षा गर्न अवतरित भएका थिए । उनले सनसारमा रहुञ्जेल सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरे ।  राजनीति, धर्म, दर्शन, योग, ज्ञान आदिका पूर्णज्ञाता भएकाले श्रीकृष्णलाई भगवानका अन्य सबै अवतारहरूभन्दा श्रेष्ठ र पूर्णवतार मानिएको छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको थियो । त्यसैले यस दिनलाई वर्षेनी ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनेर मनाइन्छ । नेपाल, भारत लगायत विश्वका विभन्न भागमा छरिएर रहेका हिन्दु धर्मावलम्बीले यस दिनलार्इ कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजन–किर्तनका साथ मनाउने गर्दछन् ।

भगवान श्रीकृष्णका विषयमा  विभिन्न व्यक्तिहरूले विभिन्न मतहरू राखी ग्रन्थहरू तयार गरे पनि सबैले श्रीकृष्णलार्इ एक अद्भूत क्षमता सम्पन्न व्यक्तित्वका रूपमा मानेका छन् । वेद, पुराण तथा उपनिषद आदिका विद्वान तथा धर्माचार्यहरूले श्रीकृष्णको यस धरातलमा प्रकटन र लीलाका विषयमा विभिन्न मतहरू राख्दै व्याख्या गरेका छन् । यद्यपी वेद, उपनिषद, संहिता, श्रीमद्भागवत पुराण, महाभारत तथा गीतामा वर्णित कुराहरूलार्इ भने सबै विद्वानहरूले प्रमाणका रूपमा लिएका छन् । हिन्दुधर्म अन्तर्गत प्रचलित दर्शनहरूका अनुसार मूलतः श्रीकृष्णको मूल स्थान र उनको यस पृथ्वीलोकमा जन्म र लीलाका विषयमा निम्नलिखित तीनवटा मतहरू बढि प्रचलनमा आएको पाइन्छन् । यसलार्इ श्रीकृष्णको त्रीधा लीला पनि भनिन्छ ।

क. द्वापर युगको अन्तमा पृथ्वीमा वासुदेव र देवकीका पूत्रका रूपमा अवतरित हुने वैकुण्ठ निवासी भगवान विष्णुका अवतार श्रीकृष्ण । उनलार्इ गरूड पुराण आदिमा बैकुण्ठबासी भगवान विष्णुको ८औ अवतारका रूपमा वर्णन गरिएको पाइन्छ । यीनलार्इ क्षर (नासवान) कृष्ण पनि भनिन्छ । श्रीहरी भनेर चिनिएका, १६ हजार एक सय ८ पटरानी भएका कृष्ण वैकुष्ठवासी भगवान विष्णुअंश क्षर कृष्ण हुन् । हिन्दु शास्त्रका अनुसार बैकुण्ठधाम महाप्रलयका समयमा नष्ट भएर जान्छ तसर्थ यीनको भक्तिबाट प्राप्त बैकुण्ठबासको मुक्ति पनि नासभएर जान्छ भन्ने उल्लेख पाइन्छ ।

ख. वैकुण्ठ धामभन्दा माथि गोलोकधाममा निवास गर्ने अखण्ड रालिलानायक गोलोकी कृष्ण । यीनलार्इ अक्षर (अविनासी) कृष्ण पनि भनिन्छ । यीनको भक्ति गर्नेहरू गोलोकधाममा मुक्ति पाएर गोपीरूपमा राधाश्रीकृष्णको नित्य प्रेम पाउन सक्छन्  । यस दर्शन अनुसार वृन्दावनमा गाई चराउने, साढे तीन कोटी सखा र सखीहरुको साथमा निवास गर्ने कृष्ण गोलोकी अक्षर कृष्ण हुन् जसले कंशको वध गरेका थिए । हिन्दु दर्शनशास्त्रका विद्वान डा. बुद्धिप्रकाश वाजपेयीका अनुसार यी अक्षर कृष्णले पनि आफै “म त अक्षरातित कृष्णको करोडौं अंशको एक अंश मात्र हूँ र त्यो पूर्णअंशको नित्य प्रेम पाउनका लागि त उनैको भक्ति अनिवार्य छ” भनेकाले यिनले पनि नित्य मोक्ष प्रदान गर्न सक्दैनन ।

ग. अक्षरधाम भन्दा माथिका परमधाममा निवास गर्ने अक्षरातित श्रीकृष्ण । यस दर्शन अनुसार पृथ्वीलोकमा आएका श्रीकृष्ण जब बालक थिए र पछि भगवद्गीताका वक्ता थिए,  उनीमा अक्षरातित श्रीकृष्णको जोस र अक्षर कृष्णको आत्मा विद्यमान थियो । उनीहरूको मतानुसार देवकि नन्दनका रूपमा वृन्दावन विहार गर्ने, माखन र मिश्री खाने, वालसखा राधा र गोपीसंग प्रेमको रास गर्ने, कसैको वध नगर्ने, कसैलाई नविझाउने बाल र किशोर लीला गर्ने अक्षरातित श्रीकृष्ण हुन । यीनलार्इ पूर्णब्रह्म, सच्चिदानन्द परमात्मा पनि भनिन्छ । कतिपय हिन्दु विद्वानहरूले अक्षरातित् श्रीकृष्ण भनी वेद पुराण आदिमा प्रष्ट उल्लेख नभएको भनी यस मतको आलोचना गरेका छन् ।

माथिका तीनैवटा मतका अचार्यहरूले आफ्ना मतको पुष्टिगर्न शास्त्रका विभिन्न प्रमाणहरू दिएका छन् । तथापी उनीहरू  मथुरामा भएको जन्म लिने, वृन्दावनको वाललीला गर्ने, वृन्दावन तथा मथुराका किशोर लीला र तत् पस्चात गुरू शान्दिपनी संगको १४ विद्या र ६४ कला सहितका शिक्षा आर्जन गर्ने, द्वारकापुरी स्थापना, महाभारत युद्धमा सहभागिता जनाउने श्रीकृष्ण एउटै व्यक्ति भएकामा एक मत छन् । यद्दपी शरीर एउटै भए पनि अत्मामा प्रकट हुने जोश र आवेश भने फरक फरक थिए भन्ने मान्यता राख्छन् । धेरै विद्वानहरूले श्रीकृष्ण भनेको  जीवात्मालार्इ अध्यात्मिक मार्गमा हिडाउदै शान्तिपूर्ण सामाजिक व्यवस्था तर्फ उन्मूख गराउने एक शाश्वत तत्व हो भनेका छन् ।

भगवान श्रीकृष्णका विषयमा राजनीतिका विद्वानहरूले पनि व्याख्या गरेका छन् । भारतका स्वतन्त्रता संग्रामका अग्रणी व्यक्तित्व डा. राम मनोहर लोहिया पनि कृष्ण भक्त थिए । उनका अनुसार कृष् को अर्थ आकर्षित गर्ने शक्ति र ण को अर्थ परमानंद या पूर्ण मोक्ष।  तसर्थ परम अनन्द वा मोक्ष (अनन्त मुक्ति) तर्फ अकर्षण गर्ने शक्ति नै कृष्ण हो र यही नै परब्रह्म पनि हो । वास्तवमा श्रीकृष्ण कुनै एक व्यक्ति वा साधारण मानिस नभई, समग्र अस्तित्वको प्रतिनिधित्व गर्ने परब्रह्म परमात्मास्वरूप हुन् । महात्मा गान्धीले पनि भगवान श्रीकृष्णलार्इ निष्काम कर्मयोगी, आदर्श दार्शनिक, स्थितप्राज्ञ एवं दैवी शक्तिहरूबाट सुसज्जित युगावतार पुरूषका रूपमा उल्लेख गरेका छन् ।

निश्कर्षमा श्रीकृष्णलार्इ कसैले महाकाव्यका (महर्षि कृष्ण द्वैपायन व्यासद्वारा रचित श्रीमद्भागवत पूराण, श्रीमद्भगवत गीता, महाभारत, आदि) एक प्रमूख पात्रका रूपमा मानेका छन् भने कसैले भारतका एक ऐतिहासिक व्यक्तित्वका रूपमा पनि स्थापित गर्न खोजेका छन् । धर्माचार्यहरूले भने परब्रह्म,  इश्वरका पूर्णावतार, सम्पूर्ण मानव समाजका लागि शान्ति र भातृत्वमा गाँस्ने अध्यात्मिक तत्व आदिका रूपमा मानेको पाइन्छ । जे रूपमा माने पनि हिन्दु शास्त्रहरूमा वर्णित भगवान श्रीकृष्णद्वारा जन्म देखि महापिरनिर्वाण पर्यन्त सामना गरिएका परिस्थिति र उनले गरेका निर्णयहरूबाट मानव जीवनमा उपयोगी थुप्रै कुराहरू सिक्न सकिन्छ । आजको विभाजित नेपाली समाजमा रही भविष्य निर्माण गर्न दोधारमा परेका नवयुवाहरू, दिशाहिन राजनितिक नेतृत्वले मात्र नभएर समाजका प्रत्येक व्यक्तिले ती कुराहरू सिक्न जरूरी दिखन्छ । यस लेखमा केही सान्दर्भिक कुराहरूलार्इ बुंदागत रूपमा उल्लेख गरिएको छः

संङर्षमय जीवनः श्रीकृष्ण मथुराको जेलमा जन्मनासाथ वुवा–आमाको साथ छुट्यो । गोकुलमा नन्द र यशोदाको घरमा पालित उनको जीवन सधै संघर्षले भरिएको थियो । वालापनमै विभन्न सैतानहरूले गरेका हत्याका प्रयत्न, गोठालाको रूपमा श्रम गर्नुपर्ने वाध्यता, मामा कंशका शैनिकहरूको वर्वरताको सामना गर्नु पर्यो । युवाकालमा पनि अनेकन आरोप तथा विछोढका पीढा सहन गर्नु पर्ने वाध्यता तथा अन्त्यकालमा पनि आफ्ना सम्पर्ण सेना सहित यदुबंशीको विनास आदि । किन्तु उनी कत्तिपनि बिचलित भएनन् र सफलता प्राप्त गरेरै छोडे । यसमा कृष्णले गरेको व्यवहार र लिएका निर्णयबाट आफ्नो मोहलाई त्यागेर कुनै पनि आवेग, कुण्ठा, पीढा वा अति हर्ष जस्ता अनुभुतिसंग रूमल्लीएर विचलित निर्णय लिनु हुदैन र आफ्नो लक्ष्यमा निरन्तर लागिरहनु पर्दछ भन्ने पाठ सिक्न सकिन्छ ।

असक्ती र मोहबाट बच्नेः कुनैपनि कुरामा आशक्त नबन्नु यसले मानिसमा जसरी पनि त्यही कुरा प्राप्त गर्ने कामना जाग्छ । उक्त कुरा (बस्तु वा पद विशेष) प्राप्तिको मार्गमा कसैले अवरोध गरिदिएमा ऊ क्रोधित हुन्छ । क्रोधले विवेक नष्ट गरिदिन्छ र त्यसपछि उसले संस्कार भुल्छ, संयम गुमाउछ अनि बुद्धि नष्ट भई त्यसको अवस्य पतन हुन्छ । तसर्थ कुनै पनि कुरामा विशेष अशक्ति राख्नु हुदैन ।

अहंकार र नीजि स्वार्थबाट बच्नेः प्रेमपूर्वक निस्वार्थ भावले आफ्नो जिम्मेवारीको कर्म गर्नु पर्दछ जसको फल सारा समाजले पाओस् । आफूले मात्र फल पाउने आशा राखी गरिएको कर्म दुश्कर्म हो । कर्मको फलको स्रेय पनि आफूले मात्र लिनु पनि अहंकार र दम्भ हो । यी दुवैले मानिसलार्इ पतन गराउछन् जसरी महाभारतमा दुर्योधनको पतन भएको थियो । अहंकारले अरूको अत्मालार्इ सम्मान गर्न रोक्छ । श्रीमद्भगवत गीताबाट प्रभावित महात्मा गान्धीले भनेका छन् “धर्मविहीन राजनीति मृत्युको जाल मात्र हो किनकि त्यहाँ आत्माको कुनै मान सम्मान हुँदैन।” आत्मा सम्मान नै मानवको सबैभन्दा पृयबस्तु हो । आफूले मात्र वा आफ्ना मान्छेले फल पाउने गरी गरिएको काम भगवान श्रीकृष्णका अनुसार सहि कर्म हुन सक्दैन । त्यसबाट समाजलाई कुनै लाभ हुन सक्दैन ।

निरन्तर तथा निष्ठापूर्वक कार्य गर्नेः कुनै पनि लक्ष्य लिएर काम थाले पछि त्यसकार्यलार्इ पूर्ण निष्ठाका साथ र पहिलो प्राथमिकता दिएर गरिरहने । यसलार्इ निस्काम भाव भनिन्छ । केहि क्षण वा केही दिन गर्ने र तुरून्त प्रतिफल खोज्ने वा अनेक बहाना बनाउने र कामलार्इ महत्व नदिने वा तुरून्त प्रतिफल खेज्ने गर्नु हुदैन । निरन्तरता र पूर्ण निष्ठाका साथ कार्य गरेमा अवस्य सफलता पाइन्छ ।

चुनौतिसंग डराएर नबस्नेः उत्कृष्ठ काम गर्न वा सफल नतिजा पाउन सहज हुदैन । सबै कुरा मैले भने जस्तो भएमा मात्र काममा निरन्तरता दिन्छु भन्ने सोच प्रगति विरोधी सोच हो । यसको अर्थ सधै Comfort Zone मा रहन खोज्ने व्यक्तिले केही प्रगति गर्न सक्दैन । चुनौती स्वीकार गर्नेले मात्र प्रगतिको फल पनि उपभोग गर्न पाउँछ ।

माथि वर्णित जीवन उपयोगी कुराहरू धेरैजसो श्रीमद्भगवत गीताबाट लिइएका हुन् । यस्ता अरू पनि कयौ अमृतमय शिक्षा गीतामा पाइन्छन् जसले व्यक्तिलार्इ मात्र नभएर सम्पूर्ण मानव समाजलार्इ सही समयमा सही निर्णय लिने क्षमता विकास, आपसी सहकार्य तथा पारस्परिक सम्मानको संस्कृति निर्माण, सकारात्मक सोचको विकास, दृड र अत्मविश्वासले युक्त नागिरकको विकास गर्दै समृद्ध समाज तर्फ अगाडि बढ्न मद्दत गर्दछ । यस वर्षको श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा श्रीकृष्णका अदरणीय अनुयायीहरूमा केवल उनलाई पूजा गरेर भजन किर्तन मात्र नगरी उनले मानव समाजका लागि देखाएको मार्गदर्शनमा जीवनलाई अघि बढाउने हौसला मिलोस् र मानव कल्याणका लागि सम्पूर्ण मानव समुदायवीच गीताका अमृतमय शिक्षा पूगोस् भन्ने कामना गर्दछु । जय श्री कृष्ण E-mail: bedsapkota@gmail.com