ज्ञान, कर्म र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको प्राकट्य दिवस; श्रीकृष्ण जन्माष्टमी पर्व

213

प्रत्येक वर्षको भाद्र कृष्ण अष्टमीलाइ वैदिक सनातन धर्मावलम्बीहरुले विशेष पवित्र दिनको रूपमा लिने गरिन्छ। असत्य र अन्यायका विरुद्धमा लड्न प्रेरित गर्ने भगवान् श्री कृष्णको प्राकट्य दिवसका रूपमा लिइने आजको दिनमा भगवान श्रीकृष्णको निकै श्रद्धा र भक्तिपुर्वक पुजा आराधना गरिन्छ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र आजको रात्रीलाई ‘मोहरात्रि’ भनिन्छ ।

सनातन धर्मग्रन्थहरूका अनुसार भगवान् विष्णुका आठौं अवतार मानिएका भगवान् श्रीकृष्णको जन्म भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको हो। पुराणहरूका अनुसार बुधबार र रेवती नक्षत्रको संयोगमा भगवान् विष्णु मानवरूपमा धर्तीमा अवतरित भएका हुन्। गीताको माध्यमबाट कर्म र ज्ञानको महत्त्व विश्वभरि फैलाए। वसुदेव र देवकीका आठौं पुत्रको रूपमा पृथ्वीमा आएका भगवान् कृष्णले दिएको गीता ज्ञानलाई विश्वकै उत्कृष्ट दर्शन मानिएको छ। असत् पात्र कंसको अन्त्यपछि पनि समाजमा अत्याचार मच्चाउने शिशुपाल आदि राक्षसको अन्त्य र हस्तिनापुर राज्यको राजनीतिमा समेत कृष्णको ठूलो योगदान छ। युद्धको मैदानबाट हटिसकेका अर्जुनलाई गीताको माध्यमबाट युद्धतर्फ प्रेरित गरे। गीताज्ञानले महाभारत युद्ध मात्र गराएन ज्ञान र कर्मको सन्देश पनि छोडेर गयो। आज पनि दार्शनिक ग्रन्थहरूको चर्चा चल्यो भने पहिलो कोटिमा श्रीमद्भागवत गीता नै आउँछ। श्रीमद्भागवत गीताको व्याख्या गर्न विश्वभरि नै अनेकौ प्रयास भएका छन् ।

जुनसुकै समयमा पनि केही समय खराब र असत्य पक्षको विजय भएको देख्न सकिन्छ, चाहे पौराणिक ग्रन्थहरूमा उल्लेख गरिएका सत्य युग होस् वा द्वापर वा त्रेता युग नै। विभिन्न समयमा असत्यको बोलवाला रहेर धर्म वा सत्य डगमगाउने स्थितिमा पुगिसकेको हुन्छ। त्यसको रक्षा गर्न भगवानले विभिन्न रूप लिएर असत्यको नाश गरेका उदाहरण प्रशस्तै छन्। यसै सन्दर्भमा अर्जुनलाई दिएको गीता ज्ञानको एक प्रसंगमा भगवान् कृष्णले भनेका छन्: यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्।। अर्थात् “जब जब पृथ्वीमा धर्मको नाश हुँदै जान्छ अथवा अधर्म बढ्दै जान्छ त्यस्तो अवस्थामा दुष्टहरुको नाश गरेर धर्मको स्थापना गर्न समय समयमा यस धर्तीमा अवतार लिनेछु।” श्रीकृष्णलाई भगवानका रूपमा मात्र होइन एक दार्शनिकका रूपमा समेत स्मरण गरिन्छ। भगवान् कृष्णले दिएका ‘कर्मण्यवाधिकारस्ते मा फलेषु कदाचन…’ अर्थात् ‘कर्म गर। फलको आशा नगर।’ भन्ने उपदेशमा ज्यादै गहिरो र व्यापक दर्शन लुकेको पाइन्छ। मानिसले गरेको कर्मअनुसार नै उसलाई फल प्राप्त हुन्छ। राम्रो कर्म गरेको छ भने स्वतः फल पनि राम्रै हुन्छ त्यस कारण गरिसकेको कामबारे आशक्ति राखी त्यसबारे चिन्तित हुनु हुँदैन भन्ने गीताको सन्देश रहेको छ। भगवान् कृष्णका यिनै कर्महरूको सम्झना गर्दै आज भाद्र कृष्ण अष्टमीका दिन सनातन धर्मावलम्बीहरूले उनको उपासना गर्छन्। वैष्णव वा श्रीकृष्णप्रणामीहरूले त यो पर्वलाई विशेष महत्त्वका साथ मनाउँछन्। कृष्णको जन्मदिनमा उनको विशेष आराधना गर्ने परम्परा चलेको छ। यो दिन विशेषगरी वैष्णव सम्प्रदायका श्रद्धालुहरू निराहार व्रत बसी उनको आराधना गर्छन्।

 

यसप्रकार वैदिक सनातन हिन्दूधर्मावलम्बीहरूको महान् पर्व श्रीकृष्णजन्माष्टमीले जस्तोसुकै अवस्थामा पनि धर्मको पालना गर्नुपर्ने सन्देश दिन्छ, मन, वचन र कर्म पवित्र राख्नुपर्ने सन्देश दिन्छ । यस्ता पर्वहरूलाई बाह्य रमझमको रूपमा मात्र नहेरी भित्री मर्म बुझेर असल कर्म गर्न सकेमा विश्वमा सुख, शान्ति र कल्याण हुने कुरामा कुनै शंका छैन।जय होस् ।।