काठमाडौँ । लकडाउनपछि खुलेको हलमा पहिलो पटक नयाँ नेपाली फिल्म प्रदर्शनमा आएको छ । शुक्रबारदेखि दिपेश सापकोटा निर्देशित फिल्म ‘एउटा यस्तो प्रेमकहानी’ प्रदर्शनमा आएको हो ।

लकडाउनपछि पुरानै फिल्म प्रदर्शन गरेर हल सञ्चालन गर्दै आएका हल सञ्चालक फिल्मले दर्शक हलसम्म तान्नेमा आशावादी थिए । दर्शकको उपस्थिति शून्य भएको समयमा निर्माताले नयाँ फिल्म दिने कुरा भएन । नयाँ फिल्म नभएकै कारण दर्शकको उपस्थिति कम भएको बताउने हल सञ्चालकलाई नयाँ फिल्मले नयाँ ऊर्जा थपिदिएको थियो ।
२ वर्षदेखि प्रदर्शन अलमलमा परेको यो फिल्मले शुक्रबार उत्साहजनकदर्शक तान्न नसकेको हल सञ्चालक बताउँछन् । ‘खासै दर्शक छैन आज,’ क्यूज सिनेमाजका म्यानेजर राकेश श्रेष्ठले बताए । बानेश्वरको वान सिनेमाजमा पनि सोचेजस्तो बुकिङ नभएको हलका म्यानेजर उमेशराज गिरीले बताए ।
‘नयाँ फिल्मले दर्शक हलसम्म तान्ला भन्ने आश थियो । तर सोचेजस्तो बुकिङ भएन । अहिलेसम्म २० जना जतिले टिकट काट्नुभयो,’ उमेशले बताए । उनी थप्छन्,’शनिबारचाहिँ दर्शकको अकुपेन्सी पहिलाको झैं होला भन्ने आस छ ।’ ९ महिनापछि खुलेको यो हलले २ वटा पर्दामा फिल्म देखाउँदै आएको छ ।
लबिममा पनि अन्य हलले झैं ५० प्रतिशत दर्शक अकुपेन्सीमा फिल्म देखाउँदै आएको छ । -कान्तिपुर