अर्घाखाँची ।  नेपाली कांग्रेस अर्घाखाँचीका जिल्ला सदस्य एवं प्रकाशन तथा प्रचार विभाग प्रमुख माधवप्रसाद पौडेलले कांग्रेसी मनहरूलाई जोड्न आफूले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने बताएका छन् ।

बौद्धिक नेताको छवि बनाएका कुशल संगठनकर्ता पौडेलले आउँदो समयमा कांग्रेस सुदृढीकरणका लागि जिल्लामा सर्वसम्मतिमा नेतृत्व चयन गर्न र कुनै गुटमा रहेर पदाधिकारीमा उम्मेद्वार नदिएर , गुट विशेषको हुन मन नलागेर महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने सोच बनोएको बताए ।

कांग्रेसी मनहरू जोड्न आफूले कुनै समूह भएर होइन, सभापतिसहित सबै पद सर्वसम्मत चयन भएमा जिल्ला कार्यसमितिको पदाधिकारी हुन तयार रहेको पनि उनले सुनाए ।

‘पदाधिकारीका आकांक्षी नेता उम्मेदवारहरू योग्य, कर्मठ र व्यक्तिविशेष वा गुटको वकालत गर्ने नभई सक्षम होउन् भन्ने मेरो चाहना छ,’ पौडेलले भने, ‘म अझै पनि सर्वसम्मतिमा नेतृत्व चयन गर्ने अन्तिम प्रयासमा लागेको छु । मतदान भएपनि म कांग्रेसलाई चाहिने मान्छे ल्याउन पहल गर्नेछु, गुट विशेषबाट होइन, जिल्लाका लागि आवश्यक उम्मेदवारलाई नेतृत्वमा ल्याउन प्रयास गर्नेछु ।’

कांग्रेसमा लोकतान्त्रिक संस्कार विकास गर्न आन्तरिक चुनाव सहजै पचाउन सक्ने क्षमता हुनुपर्ने उनको तर्क छ । उनले जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका इन्द्रमणि पौडेल, विष्णु प्रसाद खनाल, यादव प्रसाद घिमीरे र केशव श्रेष्ठलाई एउटै गाडीमा सँगसँगै बसेर कार्यकर्ताकहाँ जान र स्वच्छ तरिकाले आफ्ना विचार र एजेन्डा राखी उनीहरूको मन जितेर जिल्लाको नेतृत्वमा पुग्न चुनौती दिएका छन् ।

उनले पार्टी सभापतिका आकांक्षीहरूलाई कुनै केन्द्रीय नेता विशेष फेरो नसमाई मतदाताको मन जित्न सुझाव दिएका छन् । अधिवेशन अवधिभर तटस्थ बसेर अधिवेशनपछि फाटेका मन टाल्न पुलको काम गर्ने पौडेलको भनाइ छ ।

‘अर्घाखाँची कांग्रेसमा सक्षम नेतृत्व नआओस् भन्नेहरूको इच्छा पूरा हुने छैन,’ पौडेलले थपे, ‘अर्घाखाँचीमा कांग्रेसलाई कमजोर बनाउन भूमिगत रूपमा लागेकाहरूलाई जिल्लाउन कांग्रेस एकढिक्का भई लाग्नुपर्छ ।’