गर्भवतीको उद्धार गर्न १० करोड बजेट, साढे सात करोड फ्रिज

166

काठमाडौं । सुविधासम्पन्न स्वास्थ्य सेवाको पहुँचबाहिर रहेका महिलाले प्रसव पीडाकै कारण अकालमा ज्यान गुमाउने घटना कम नहुँदा सरकारले दुई वर्षअघि ‘एयरलिफ्ट’ सेवा सुरु गरेको हो । ०७५÷७६ र ०७६÷७७ मा गरी १० करोड रुपैयाँ विनियोजन पनि ग¥यो । तर, लक्षित जिल्ला र वर्गसम्म यो कार्यक्रम नपुग्दा विनियोजित बजेटको ७५ प्रतिशत अर्थात् सात करोड ५८ लाख रुपैयाँ फ्रिज भएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार दुई वर्षमा एक सय ३१ महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । त्यसका लागि महिला मन्त्रालयमा उपसचिव नेतृत्वमा हेल्पडेस्क राखिएको छ । सबैभन्दा बढी डोल्पाका महिलालाई हवाई उद्धार गरिएको छ ।

कार्यविधिमा हवाई उद्धारका लागि ३० जिल्लालाई पूर्ण र चारलाई आंशिक उद्धारको सूचीमा राखिएको छ । तीमध्ये पूर्ण उद्धारको सूचीमा रहेका डोटी, दैलेख, जुम्ला, ताप्लेजुङ, तेह्रथुम, ओखलढुंगा, मुस्ताङ, म्याग्दी र रोल्पा गरी नौ जिल्लामा कार्यक्रम नै पुगेको छैन । आंशिक उद्धार सूचीमा रहेको बाग्लुङमा पनि सरकारले कार्यक्रम पु¥याउन सकेको छैन । आंशिक उद्धार सूचीमा रहेको धादिङबाट भने सातपटकसम्म उद्धार गरिएको छ ।

कर्णाली प्रदेशका ६ जिल्लाबाट वर्षदिनयता प्रसव पीडामा रहेका ४३ जना गर्भवतीलाई हेलिकोप्टरबाट उद्धार गरी सुविधासम्पन्न अस्पतालसम्म पु¥याइएको छ । तीमध्ये ३५ जनालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम र प्रदेशको सामाजिक विकास मन्त्रालयले अस्पताल पु¥याएका हुन् भने आठजनालाई स्वास्थ्य कार्यालय हुम्लाले उद्धार गरेको हो । मन्त्रालयको राष्ट्रपति महिला उत्थान समन्वय एकाइका अनुसार एकपटक हवाई उद्धार गर्दा ५५ हजारदेखि आठ लाख रुपैयाँसम्म खर्च हुन्छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमातहतमा राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालनमा छ । ६ पुस ०७५ मा हुम्ला चंखेली गाउँपालिकाकी निरा शाही (२२ वर्ष)को उद्धार गर्दै यो कार्यक्रम सुरु भएको हो । प्रदेश–१ मा एक, प्रदेश–२ मा तीन, बागमतीमा दुई, गण्डकीमा एक, प्रदेश–५ मा तीन, कर्णालीमा दुई र सुदूरपश्चिममा एउटा अस्पताललाई उद्धार गरिएका महिलाको उपचार केन्द्र तोकिएको छ । संघीय सरकारले सुरु गरेको यो कार्यक्रम प्रदेश र स्थानीय तहले पनि अनुसरण गर्न थालेका छन् ।

बाजुरा स्वामी कार्तिक खापर गाउँपालिका–१ कोल्टीकी २४ वर्षीया निर्मला विकलाई २६ मंसिर ०७६ मा परिवारले स्थानीय स्वास्थ्य चौकी पु¥यायो, तर सुत्केरी गराउन स्वास्थ्यकर्मी असफल रहे । पाठेघरबाट रगत बगिरहेको थियो । आमा र शिशु दुवैको ज्यान जोखिममा देखेर गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीले सुर्खेतस्थित नेपाली सेनाको पश्चिम एयरबेसमा हेलिकोप्टर पठाइदिन आग्रह गरे । तर, खराब मौसमका कारण तीन दिनपछि मात्र हेलिकोप्टर कोल्टी पुग्यो । निर्मलालाई बाँकेस्थित कोहलपुर मेडिकल कलेज पु¥याइयो । चिकित्सकले शिशुलाई बचाउन सकेनन् । निर्मलाको ज्यान भने मुस्किलले बच्यो ।

यस्तै, जाजरकोट कुशे गाउँपालिका–६ धरंगाकी ४५ वर्षीया रत्ना शाहीको गर्भमा जुम्ल्याहा शिशु थिए । गाउँमै सुत्केरी हुन नसकेका कारण उनलाई पनि १ मंसिर ०७६ मा हेलिकोप्टरमार्फत सुर्खेत पु¥याइयो । ‘हेलिकोप्टरबाट सुर्खेत पुग्न नसकेकी भए बाँच्ने थिइनँ होला,’ उनी भन्छिन्, ‘पुनर्जन्म पाएजस्तो लागेको छ ।’

यस्तै, २७ कात्तिक ०७६ मा छेडागाड नगरपालिका–९ की ४३ वर्षीया पानसरी कामीले पाँचौँ सन्तान जन्माउन ज्यान नै जोखिममा पार्नुप¥यो । छोरो जन्माउनैपर्ने परिवारको दबाबका कारण उनले चार छोरीलाई जन्म दिइसकेकी थिइन् । हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत अस्पतालमा पाँचौँ सन्तान छोरो जन्मिएपछि उनले पारिवारिक दबाबबाट छुटकारा पाएकी छन् ।

कुशे गाउँपालिका–१ धाउनेकी २५ वर्षीया गीता सिंहलाई गाउँमै प्रसूति हुन नसकेपछि १९ भदौ ०७६ मा हेलिकोप्टरमार्फत सुर्खेत प्रादेशिक अस्पताल पु¥याइयो । अस्पतालमा उनले चौथो सन्तान छोरालाई जन्म दिइन् । सोही गाउँपालिका–८ की ४५ वर्षीया तुलसी सुनुवारलाई पनि २७ भदौ ०७६ मा हेलिकोप्टरमार्फत सुर्खेत लगियो । छोराको चाहनामा चार छोरी जन्माइसकेकी उनको पाँचौँ बच्चा पाठेघरमा उल्टो बसेको थियो । उनलाई पनि हेलिकोप्टरबाट सुर्खेत पु¥याई प्रसूति गराइयो ।

१७ मंसिर ०७६ मा जुनीचाँदे गाउँपालिका–२ हटेटाकुराकी ३१ वर्षीया कालिका तिरुवाको सुत्केरी व्यथासँगै पाठेघरबाट निरन्तर रगत बग्न थाल्यो । आमा र शिशु दुवैको ज्यान जोखिममा परेपछि हेलिकोप्टरबाट सुर्खेत पु¥याइयो । २१ मंसिर ०७६ मा नलगाड नगरपालिका–६ भारगाउँकी २५ वर्षीया माया विक र २६ जेठ ०७७ मा छेडागाड–३ की २५ वर्षीया कमला शाहीलाई हेलिकोप्टरबाटै उद्धार गरी सुर्खेत अस्पताल पु¥याइएको थियो । घरमै सुत्केरी गराउन खोज्ने परिवार र नियमित गर्भ जाँच नगराउँदा ग्रामीण भेगका महिलाको ज्यान जोखिममा पर्ने गरेको स्वास्थ्यकर्मी बताउँछन् । नेपाली सेनाका अनुसार कर्णालीमा विपत्मा परेका नागरिकको उद्धारका लागि सुर्खेतस्थित पश्चिम एयर बेसमा ठूलो र सानो गरी दुईवटा हेलिकोप्टर तैनाथ राख्ने गरिएको छ ।

यस्तै, रसुवा गोसाइँकुण्ड–७ ठूलो स्वार्बुकी २७ वर्षीया छिरिङ लामालाई १७ वैशाख साँझ सुत्केरी व्यथा लाग्यो । ‘नर्मल डेलिभरी’ हुने आशामा दुई दिन पीडा सहेरै बसिन् । तर, शिशु जन्मेन । बरु अत्यधिक रक्तस्राव हुन थाल्यो । स्वास्थ्यस्थिति जटिल बनेपछि गाउँपालिका अध्यक्ष काइसाङ नोर्बु तामाङले हेलिकोप्टर पठाइदिन काठमाडौंस्थित सैनिक मुख्यालयमा आग्रह गरे । २० वैशाख बिहान बल्ल हेलिकोप्टर पुग्यो । उनलाई काठमाडौं ल्याएर थापाथलीस्थित प्रसूतिगृहमा भर्ना गरियो । र, सकुशल छोरीलाई जन्म दिइन् । ‘बाँच्छु जस्तो लागेकै थिएन, हेलिकोप्टरबाट उद्धारपछि ज्यान बच्यो,’ लामा भन्छिन् ।

पूर्वी रुकुम पुथा उत्तरगंगा गाउँपालिका–५ हुकामकी २६ वर्षीया लीलामती विकलाई स्थानीय स्वास्थ्य चौकीले उनलाई सुविधासम्पन्न अस्पतालमा लैजान भन्यो । गाउँपालिकाले सुर्खेतस्थित सेनाको पश्चिम एयरबेसमा हेलिकोप्टर पठाइदिन आग्रह ग¥यो । तीन दिनपछि मात्र हेलिकोप्टर आयो । कोहलपुर मेडिकल कलेजमा सालमा बेरिएको मृत शिशु जन्मियो । उनी भन्छिन्, ‘मर्छु जस्तै लागेको थियो । बच्चा खेर जाँदा दुःख त लाग्छ नै । ज्यान बाँच्नु नै ठूलो कुरा भयो ।’

हवाई उद्धारका यी तीन ठाउँ र पात्र फरक छन्, तर भोगाइ समान छ– हवाई उद्धारमा हुने विलम्ब । मौसम र हवाई उद्धार कार्यविधिअनुसार पूरा गर्नुपर्ने प्रक्रियाका कारण उद्धारमा ढिलाइ हुने गरेको महिला, बालबालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका कर्मचारी बताउँछन् । कार्यविधिअनुसार कागजात तयार पार्न केही समय लाग्ने भएकाले यसलाई परिमार्जन गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

महामारीबीच मर्कामा गर्भवती : निजीमा बेवास्ता, प्रसूतिगृहमा उपचार

निजी अस्पतालमा नियमित जाँच गराइरहेका गर्भवती रुघाखोकी लागेपछि उपेक्षित

काठमाडौंकै मूलपानीकी २४ वर्षीया अञ्जना न्यौपाने नियमित गर्भ जाँचका लागि वैशाखमा जोरपाटीस्थित नेपाल मेडिकल कलेज पुगिन् । चिकित्सकले ४ मंसिरको डेलिभरी समय दिएका थिए । नियमित जाँचका लागि बोलाउने तथा विभिन्न परीक्षण गराउँदै आएको भए पनि चिकित्सकले उनलाई सिभिल सर्भिस अस्पताल पठाए । त्यहाँ पनि पहिलोपटक स्वास्थ्य जाँच गरेका चिकित्सकले त्यसपछि उनलाई भेटसमेत दिएनन् ।

बरु अस्पतालका निर्देशक डा. दीर्घराज आरसीले नियमित जाँच भए पनि डेलिभरीको समयमा सेवा अवरुद्ध हुन सक्ने भन्दै सकेसम्म अन्यत्र जान भने । त्यसपछि भने उनी परोपकार अस्पताल पुगिन् । जहाँ २ मंसिरमा उनको ‘नर्मल डेलिभरी’ भयो ।

त्यस्तै, राति १२ बजे सुत्केरी बेथा लागेपछि काठमाडौंको हात्तीगौँडाकी ३४ वर्षीया दिलु घिमिरेलाई २२ असोजमा राति नै परिवारजनले थापाथलीस्थित नर्भिक अस्पताल पु¥याए । ३४ साता (आठ महिना)की गर्भवती दिलुलाई बेथा लागेपछि केही जटिलता देखियो कि भनेर आफन्तले आत्तिँदै नर्भिक पुर्याए, तर त्यहाँ चिकित्सकले हेरेनन् ।

यसअघि नर्भिक नै जाने गरेकी उनलाई त्यहाँ कार्यरत डा. नूतन शर्माले नियमित हेर्दै आएकी थिइन् । तर, बेथा लागेको दिन भने राति आठ घन्टा कुर्दा पनि कुनै चिकित्सक नआएको उनकी बहिनी तुलसाले बताउँछिन् । दिलुलाई नियमित हेर्दै आएकी डा. शर्माले फोनमा भनेकी थिइन्, ‘तुरुन्तै अस्पताल ल्याएर भर्ना गर्नू, म अस्पतालमा भनेर व्यवस्थापन गर्छु र भोलि अप्रेसन गर्छु ।’ त्यसबीचमा नर्भिकले निकै महँगा परीक्षण गराइसकेको थियो । तर, डाक्टर भने कोही पनि आएनन् ।

दिलुलाई समस्या बढ्दै जाँदा पनि चिकित्सक नआएपछि परिवारजनले नजिकै रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल लग्ने निर्णय गरे, तर नर्भिकले डिस्चार्ज दिन मानेन । ‘अस्पतालमा खटिएका सुरक्षागार्डले हामीलाई घेरा हाले,’ तुलसा भन्छिन्, ‘स्वास्थ्य मन्त्रालयमा फोन गर्छु भनेपछि मात्रै डिस्चार्ज दिए ।’ परोपकारमा पु¥याउनेबित्तिकै वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीले शल्याक्रिया गरेर डेलिभरी गराए ।

दिलु र अञ्जनाजस्तै अहिले सबैभन्दा धेरै समस्यामा छन् गर्भवती तथा सुत्केरी । त्यसअघि नियमित सेवा दिँदै आएका निजी तथा गैरसरकारी अस्पतालले थुप्रै गर्भवतीलाई अत्यावश्यक सेवा नदिएर बिचल्ली बनाए । सामन्य रुघाखोकी लागेका गर्भवतीलाई पनि निजी अस्पतालले बेवास्ता गर्दै आएका छन् । महामारीका समयमा काठमाडौंका निजी अस्पतालले बिचल्ली बनाएकामध्ये ९८ जना गर्भवतीलाई परोपकार अस्पतालले सेवा दिएको छ ।

कोरोना संक्रमणको बहानामा अन्तिम समयमा उपचार सम्भव नहुने भन्दै अन्यन्त्र जान बाध्य बनाएका गर्भवतीलाई सेवा दिएको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको कोभिड संयोजक डा. कीर्तिपाल सुवेदी बताउँछन् । डा. सुवेदीका अनुसार प्रसूतिगृह आउनेमध्ये ७० प्रतिशत गर्भवती निजी अस्पतालले बेवास्ता गरेपछि यो अस्पताल आएका हुन् । ‘कोभिड संक्रमित नहुँदासम्म सेवा दिएका छन्, संक्रमित भएको वा हुन सक्ने आशंका भएपछि हेर्न नसक्ने भन्दै पठाएको देखिन्छ,’ उनी भन्छन् ।

यो अवधिमा परोपकार अस्पतालले कोभिड संक्रमित गर्भवतीलाई पनि सेवा दिएको छ । अस्पतालको तथ्यांकअनुसार अस्पतालले ९८ जना कोभिड संक्रमित महिलालाई सुत्केरी सेवा दिएको छ । उनीहरूमध्ये ५४ जनाको शल्यक्रिया गरिएको छ भने ३९ जनाको सामान्य डेलिभरी भएको अस्पतालकी निर्देशक डा. संगीता मिश्रले बताइन् । त्यस्तै, ४८ जना कोरोना संक्रमित गर्भवतीले अन्य सेवा लिएका छन् ।

अहिले परोपकार अस्पतालमा दैनिक सयको हाराहारीमा महिला सुत्केरी भइरहेका छन् । विगतमा दैनिक सरदर ६० जना डेलिभरी हुँदै आएको अस्पतालका चिकित्सक श्रीप्रसाद अधिकारी बताउँछन् । ‘निजी अस्पतालहरूले सेवा नदिएर परोपकार अस्पतालमा रिफर गरे । यदि उनीहरूले जस्तो परोपकार अस्पतालले पनि कोभिडको बहानामा गर्भवती नहेरेको भए कैयौँ आमाको ज्यान जाने थियो,’ अधिकारी भन्छन् ।

परोपकार अस्पतालले यस्तो समस्या आउन सक्ने आकलन गरेरै दुई सय बेडको आइसोलेसन वार्ड तयार पारेको थियो । निर्देशक डा. मिश्रका अनुसार कोभिडका लागि एउटा शल्यक्रिया कक्ष छुट्याइएको छ । त्यस्तै, ५० बेडको हाई डिपेन्डेन्सी सेवा सुरु गर्ने तयारी थालेको छ ।

परोपकारमा अहिले चार सय ८९ बेड छन् । ६० जना चिकित्सक र एक सय ७९ जना नर्सले सेवा दिइरहेका छन् । कोभिड व्यवस्थापन सिनियर चिकित्सकले सम्हालिरहेका छन् । अस्पतालले ०७७÷७८ को चार महिनामा ४० हजार तीन सय ५४ जनालाई सेवा दिएको छ । अघिल्लो वर्षको यही अवधिमा ५५ हजार एक सय नौजनाले सेवा लिएका थिए । आजको नयाँ पत्रिकामा समाचार प्रकाशित छ ।