कांग्रेस चौधौं महाधिवेशनः निराशालाइ उत्साहमा परिणत गरौं

625
  1. रेवती प्रसाद भूसाल
    (पूर्व केन्द्रीय सदस्य ने.का.)नेपाली कांग्रेसको अधिवेशनले कार्यकर्तामा उत्साह उत्पन्न गर्नु पर्ने हो।नेतृत्वको कार्यशैलीले १४औं अधिवेशनको शुरुवातबाटनै कार्यकर्ता निरुत्साहित बनेकाछन।अधिवेशन आगामी समयको पार्टीको राजनीतिक,आर्थिक नीति,बैदेशिक सम्बन्ध,देश बिकासको समयानुकुल दृष्टि,सामाजिक सम्बन्ध लगायतका बिषयमा छलफल गरी दिशा निर्धारण गर्ने माध्यम बन्नु पर्दथ्यो।तर पदाधिकारी र सदस्य निर्वाचित हुने पद्धतिको शुरुवात पछी कांग्रेसका अधिवेशनहरु निर्वाचनमय मात्र भएका छन।प्रस्ताब र छलफल औपचारिकतामा सीमित छन।अहिले त कृयाशिल सदस्यता बितरणमा भएको गोलमालले नेतृत्व प्रती कार्यकर्ताको बिश्वास गुम्ने तह सम्म पुगेको छ।पटक पटकको कार्यतालिका हेरफेर बाट १४औं अधिवेशन कहिले हुने हो भन्ने अनिश्चिततामा बस्न हामी बिवस छौं।ने.का.को अधिवेशन सबै नेपालीको चासोको बिषय हुने गर्दछ ।देशमा भरपर्दो अन्य प्रजातान्त्रिक पार्टी नभएकोले र यसको बिगतको गौरवपुर्ण इतिहासको कारण नागरिक समाजले आशाका साथ हेर्ने गर्दछन ।नेपालमा नागरिक स्वतन्त्रताका लागी भएका क्रान्ति र आन्दोलनको नेतृत्व गरी लोकतन्त्र स्थापना गरेको श्रेय ने.का.लाइ जान्छ।साथसाथै स्थापित लोकतन्त्र सबल नहुनु र बिकृती जन्मिनुको अपयसको भागिदार पनी नेपाली कांग्रेस भएको छ।लोकतन्त्र स्थापना गरी जनअधिकार बहाल गराउन सफल हुने कांग्रेस लोकतन्त्रलाइ संस्थागत गरी सबल बनाउन र जनबिश्वास बनाइ राख्न किन चुकी रहेको छ? यसको बिश्लेषण गरी समाधान गर्नु जरुरी छ।चौधौं महाधिवेशनले नीतिगत समिक्षाका साथै योग्य नेतृत्व छनौट गरी ने.का.लाइ पुनर्ताजगीकरण गर्नु जरुरी छ।ऐतिहासिक ज़िम्मेवारी पुरा गर्दै नयाँ चुनौतीको सामना गर्न सक्ने पार्टी लामो समय सम्म अस्तित्वमा रहन्छन।इतिहासमा मात्र रमाउने पार्टी प्रजापरिषद बन्दछन ।ने.का.लाइ ससक्त बनाउन यसको नीति नेतृत्व र संगठनमा ब्यापक सुधार जरुरी छ।
    नीति र नेतृत्व
    —————-
    राष्ट्रियता,प्रजातन्त्र र समाजवाद नेपाली कांग्रेसका आदर्श सिद्धान्त हुन।सबै नेपालीलाइ एकताको सुत्रमा बांध्ने राष्ट्रियताको भावना हो।राष्ट्रियताको भावनाबाट आबद्ध नेपालीको प्रयत्नबाट नै समुन्नत र सम्बृद्ध नेपालको निर्माण सम्भव छ।हामी नेपाली सबै समान हौं,छौं।कोही पनी सानो,ठूलो,बिशेष होइन।कसैलाइ बिशेषाधिकार छैन,हुनु हुदैन।तसर्थ समुन्नत सम्बृद्ध नेपालको निर्माण प्रजातान्त्रिक बाटो बाट नै सम्भव छ भन्ने हाम्रो बिश्वास छ।प्राकृतिक रुपमा सबै मानिस समान हुन।असमानता मानव निर्मित कृत्य हो।हाम्रो सम्बृद्धिको लक्ष सबै नेपालीका अनिबार्य आबस्यकताको पुर्ति गरी उन्नत प्रबिधीयुक्त र वातावरण मैत्री समुन्नत नेपालको निर्माण हो।राष्ट्रीयता,प्रजातन्त्र,समाजवादका यि आदर्श प्राप्त गर्न,सुदृढ बनाउन र बिकसित गर्न आबस्यक पर्ने समयानुकुल नीति नै नेपाली कांग्रेसका नीति हुन।बर्तमान समयमा राष्ट्रियता सुदृढ छ कि कमजोर बनेको छ?प्रजातन्त्र किन संस्थागत र सबल बन्न सकेन ?अपेक्षित आर्थिक प्रगती किन भै रहेको छैन?जनताको सुबिधा अभिबृद्धिमा के कारण ले ब्यबधान आयो? पार्टी का आदर्श अनुरुपको लक्ष किन हासिल गर्न सकेनौं?यसको बिश्लेषण,आत्म समीक्षा गरी नीति निर्माण गर्नु र त्यसलाइ अधिवेशन बाट अनुमोदन गराउनु नेतृत्वको जिम्मेवारी हो।उपयुक्त नीति निर्माण गर्न नसक्नु वा नीति असल हुदाहुदै पनी कार्यक्रम र कार्यान्वयन ठिक नहुनु लाइ नेतृत्वको कमजोरी मानिन्छ।आफ्नो जिम्मेवारी राम्रो संग निर्वाह गर्न नेतृत्वमा सैद्धान्तिक ज्ञान,रचनात्मक बिचार,स्वच्छता र इमान्दारिता,ब्यक्तिगत वा पारिवारिक स्वार्थको त्याग,दृढ इच्छाशक्ति,सेवा भाव र कृयाशिलता जरुरी हुन्छ।यि गुणको अभाव भएको नेतृत्वले पार्टी लाइ लोकप्रिय बनाउन सक्दैन,पार्टी कमजोर बन्दछ।संगठन र नेतृत्व
    ——————-
  2. नेपाली कांग्रेस जनतामा आधारित (मास बेस्ड)पार्टी हो।यस्को अर्थ संगठन नै नचाहिने होइन।संगठन तथा नेतृत्व जनभावनानुकुल चल्नु पर्दछ भन्ने हो।लेलिनवादी-स्टालिनवादी पार्टीमा संगठननै सर्बे सर्वा हुन्छ।जनमतलाइ संगठनको बलमा पार्टीले निर्देशित गर्दछ।प्रजातान्त्रिक पार्टीमा जनभावनालाइ पार्टीले सम्मान गर्दछ।आफ्ना नीति कार्यक्रम,सिद्धान्त जनतालाइ बुझाइ जनमत श्रृजना गर्न संगठन महत्वपुर्ण छ।संगठन भित्र सिद्धान्त बुझेका,प्रजातान्त्रिक आचरणमा रहने,कांग्रेस पार्टीको संस्कारको ज्ञान भएका जनप्रिय कार्यकर्ता हुदा पार्टी एकताबद्ध,गतिशील र लोकप्रिय बन्दछ ।अन्यथा पार्टी स्वार्थी र अवसरवादीहरुको झुण्डमा परिणत हुन्छ।पार्टीले असल नेतृत्व प्राप्त गर्यो भने पार्टीलाइ लोकप्रिय र गतिशील बनाउन उपयुक्त नीति निर्माण गरी कार्यान्वयन गर्दछ।पार्टीमा जनताको आकर्षण रहन्छ,लोकप्रियता प्राप्त गर्दछ।खराब नेतृत्वले ठिक काम गर्न नसक्दा पार्टीमा बिकृती भित्रिन्छ र बिग्रह आउन थाल्दछ।
    करिब एक बर्ष अंघी एक कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले नेपाल बिद्यार्थी संघको नेतृत्वलाइ गाँउमा बिद्यालयहरुमा ने.बि.संघ छैन,तपांइहरु नेताको वरीपरी मात्र बस्नु हुन्छ,गाउमा जानुहोस भनी आक्रोशित शैलीमा निर्देशन दिनु भयो।यथार्थ हो।नेबिसंघ केन्द्रीय नेतृत्व राजधानीमा सीमित छ,जिल्ला नेतृत्व जिल्ला सदरमुकाममा।बिद्यालय क्याम्पसमा नेबिसंघका कुरा बुझाउन कोही जांदैन।जाने क्षमता छैन, फुर्सद छैन।अधिकांस जिल्लाको नेबिसंघको नेतृत्वमा यस्ता ब्यक्ती छन,जस लाइ नेबिसंघको सिद्धान्तको ज्ञान छैन।प्रतिस्पर्धी संगठनको बिषयमा पनी सामान्य ज्ञान राख्दैनन।राजनीतिक पार्टीका भातृ संस्थाले बिचारको नेतृत्व गर्नु पर्ने हो।नेतृत्वनै बिचार सुन्य भए पछी कसरी संगठन बन्दछ?यही अवस्था तरुण दल लगायत सबै भातृ संस्थाहरुको छ।सबै काठमाण्डु वा जिल्ला सदरमुकाम केन्द्रित छन।राजधानीमा तथा जिल्ला सदरमुकाममा बसेर नेतृत्व प्राप्त हुन्छ भने किन गाँउ जानु?दस बिस जनालाइ मासु चिउरा जलपान गराएर हुन्छ भने किन बिचारशिल बन्नु ?केन्द्रिय नेतृत्व प्राप्त गर्ने गुण नै नेताको निकटको हुनु पर्ने भए पछी किन गाउ जिल्ला दगुरी पसिना बगाउनु?
  3. भातृ संस्थाहरु पार्टीका आधार स्तम्भ हुन।संगठनका मुहान हुन।मुहान नै सुख्खा भए पछी पार्टी बलियो र बिस्तारित हुने सम्भावना नै रहन्न ।भातृसंस्थाका समयमा अधिबेशन हुदैनन ।अधिवेशन आयोजना भए पार्टीको अवान्छित हस्तक्षेप हुन्छ।अधिवेशनको लागी फर्जी मतदाता बनाइन्छ।पार्टी हस्तक्षेपको कारण एक अवधी पुरै ब्यतित हुदा पनी केन्द्रीय समिती बन्न सक्दैन।यो अवस्थामा भातृसंस्था किन पुगे?यसको कारण खोजेर निराकरण नगरी एउटा कार्यक्रममा हप्काएर मात्र कृयाशिलता आउदैन।यो बिकृतीको मुलमा नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वनै छ।समग्र पार्टीको हित नहेरी आफ्नो स्वार्थमा भातृसंस्था प्रयोग गर्ने परम्पराले भातृसंस्था बिकलांग बनेका छन।स्वतन्त्र निर्णय लिने,कार्यसम्पादन गर्न सक्ने क्षमता नै गुमाइ सकेका छन।स्वस्थ्य प्रतिस्पर्धा गर्न र संगठनको हितमा काम गर्न स्वतन्त्र छाडी दिने हो भने मात्र यिनमा नव जीवन आउन सक्छ।
  4. पार्टी कस्तो बनाउने? उद्येष्यमा निर्भर छ।
    ————————————————
  5. नेपाली कांग्रेस लाइ कस्तो पार्टी बनाउने ?यो हाम्रो उद्येष्यले निर्धारण गर्दछ।उद्येष्य कुनै तरिकाले चुनाब जित्ने वा तालमेलबाट सत्तामा पुग्ने,प्रधानमन्त्री या मन्त्री भएर सत्तासुख लिने मात्र हो भने पार्टी एउटा भर्याङ मात्र हो।नेतृत्वलाइ जुन किसिमको भर्याङ सहज हुन्छ,त्यस्तै बनाउछ।अवसरको खोजीमा रहने सिद्धान्त तथा बिचार विहिन ब्यक्तीहरुलाइ पार्टीमा भित्र्याउने ठेकेदार,बिचौलियाहरुको भरपुर सहयोग लीइ कार्यकर्ता र जनतालाइ भ्रमपुर्ण बचन तथा नाराले गुमराह गरी चुनाब जिती सरकारमा जाने,सत्ताबाट आफु तथा आफ्ना सहयोगी स्वार्थी तत्वहरुलाइ लाभ दिलाउने काम मात्र गर्ने।यो उद्येष्य पुरा गर्न नियमित अधिवेशन,स्वस्थ प्रतिस्पर्धा,सिद्धान्तनिष्ट कार्यकर्ता,कृयाशिल र अनुशासित भातृ संगठन बाधक हुन्छन।यसको लागी पनी संगठन त चाहिन्छ तर आदेश पालक समुहको रुपमा मात्र।
    यस्तै प्रबृत्तीले प्रशय पाउदा अहिले नेपाली कांग्रेस भित्र नेतृत्व प्रती अबिश्वास बढी नेतृत्वको संकट देखिएको छ।नेबिसंघ तरुण दल जस्ता उर्जावान संगठनमा उच्च नेतृत्वमा रहि अहिले नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा पुगेका अधिकांस ब्यक्तीहरु कुनै बिचारको प्रतिनिधित्व नगरी पद प्राप्ती र ब्यक्तीगत स्वार्थको लागी गुट परिवर्तनमा ब्यस्त देखिन्छन।उच्च त्याग र समर्पणको भावना रहने संगठनको नेतृत्व गरेका ब्यक्तीहरु किन स्खलित हुन पुगे? यस्तो चिन्ताजनक अवस्था कसरी शृजना भयो? यसको कारण र निदान नखोज्ने हो भने नेपाली कांग्रेस पनी बिचारबिहीन भुपु पंच पार्टी वा सिद्धान्तबाट दिग्भ्रमित बिचौलियाको पोषक एमाले जस्तै बन्ने निश्चित छ।हामीले अरु कसैलाइ पराजित गर्नु पर्ने छैन।हामिले जित्नु पर्ने आफु भित्रको बिकृती लाइ हो,अवांछित स्वार्थ र अहंकारलाइ हो।बिधान भन्दा म माथी हुं भन्ने आफु भित्रको अप्रजातान्त्रिक चरित्र लाइ हो।हामीले आफु भित्रका बिकृतीहरु लाइ पराजित गरी दिवंगत नेताहरुको मार्ग दर्शन तथा सहिदहरुको सपना अनुसार जनता प्रती समर्पण र सेवाभावले काम गर्ने हो भने नेपाली कांग्रेसले लामो समय सम्म जनताको सेवा गर्ने अवसर पाउन सक्छ।
  6. नेतृत्व छनौटका आधार
    —————————
  7. चौधौं महाधिवेशन नेपाली काँग्रेसका कार्यकर्ताहरु समक्ष चुनौतीको रुपमा उपस्थित भएको छ।हामी नेपाली काँग्रेसको इतिहासको सर्वाधिक खराब अबस्था बाट गुज्री रहेका छौं।सैद्धान्तिक रुपमा नेपाली काँग्रेस ठिक बाटोमा भएता पनी नेतृत्वको नीति बिहिनता,अकर्मण्यता,पदलोलुपता र आर्थिक बिचलनका शंका उपस्थित हुनाले कार्यकर्ताको तेजोबध भएको छ।यो अवस्थाबाट पार पाउन चौधौं अधिवेशन उपयुक्त अवसर हो।वडा तह देखी केन्द्रीय तह सम्मका नेतृत्व छान्ने कार्यकर्ताले लोभ लालच बेगर बिबेकपुर्ण मत प्रयोग गर्ने हो भने यो अधिवेशन काँग्रेस पार्टीलाइ संजीवनी दिने अपूर्व अवसर बन्न सक्दछ।आफ्नो हातमा भएको अधिकारको उचित प्रयोग गर्न चुक्ने हो भने पछी काँग्रेसको नेतृत्व खराब भनी आलोचना गर्नुको अर्थ रहदैन।नेतृत्व चयनका निम्न आधार हुन सक्छन ।
  8. १) प्रथमत:कार्यकर्ता स्वयं कुनै पनी आग्रह र मनोगत चिन्तन बाट मुक्त बन्नु पर्दछ।आफ्नो ब्यक्तीगत हित साधनालाइ केन्द्रमा राखेर लिइएको निर्णयले गलत पात्रको छनौट पनी हुन सक्छ।पार्टीलाइनै कमजोर बनाउने नेतृत्वले गर्ने मायाले सम्बन्धित ब्यक्तीलाइ पनी राजनीतिक लाभ मिल्दैन।त्यसैले आफुले मत दिन लागेको ब्यक्ती पार्टीलाइ लोकप्रीय बनाउन,आदर्शबाट बिमुख नभइ उपयुक्त नीति निर्माण गर्न र सबैको भावनालाइ सम्मान गर्दै साथ सहयोग लिएर काम गर्ने क्षमता राख्छ कि राख्दैन भन्ने मुल्यांकन गरी छनोट गर्नु जरुरी छ।
  9. २) उच्च नेतृत्वको आकांक्षी ब्यक्ती आर्थिक कृयाकलापमा कती स्वच्छ छ? त्यस्को बिगत कस्तो छ? आर्थिक पारदर्शिता कायम गरेको छ कि छैन? आर्थिक चरित्र स्वच्छ नभएको ब्यक्तीले उचित निर्णय लिन सक्दैन।दागी ब्यक्ती नेतृत्वमा रहदा जनताको बिश्वास प्राप्त हुदैन,फलत:पार्टी कमजोर बन्दछ।दागी नेतृत्वमा बिपक्षका गलत कामको आलोचना गर्ने नैतिक साहस पनी हुदैन।
  10. ३) ब्यक्तीमा सेवा भाव छ कि अधिकार भाव यसको ठूलो प्रभाव रहन्छ।पदाकांक्षी ब्यक्ती सेवा भावको हो भने त्यसले आफ्नो पदको दुरुपयोग गर्ने सम्भावना ज्यादै न्युन हुन्छ।उत्तम किसिमले जन सेवा कसरी गर्न सकिन्छ भन्नेमा नै उसको चिन्तन हुन्छ।यदि अधिकार भावको ब्यक्ती छ भने त्यसले पदको दुरुपयोग गर्ने निश्चित छ।प्राप्त पद त्यस्को लागी शासन गर्ने लाइसेन्स मात्र हो।यस्ता ब्यक्ती अत्यधिक महत्वाकांक्षी हुन्छन।राजनीति जनसेवा हो।यदी जनसेवाको भावना नलिएर अधिकारको भावना राखिन्छ भने त्यो शासकीय भावना मात्र हो।यस्तै ब्यक्ती बाट राजनीति दुषित हुन्छ।
  11. ४) राजनीतिक पार्टीको लागी निर्वाचनको माध्यम बाट सत्तामा पुग्नु एउटा अवसर हो।सत्ता मार्फत देश निर्माण र जनहितका आफ्ना कार्यक्रम कार्यान्वयन गर्ने अवसर मिल्दछ।देश,जनताको सेवा गर्ने मौका पाउनको लागी नै राजनीतिक पार्टी गठन गरिएको हुन्छ।निर्वाचनमा बिजयी भएको अवस्थामा प्राय: पार्टी प्रमुखले नै सत्ताको नेतृत्व गर्दछ।त्यसैले पार्टी प्रमुखको हातमा पार्टीको मात्र नभएर देशकै भबिस्य जोडिएको हुन्छ।सरकार प्रमुखले राष्ट्रहित र जनहितका काममा मात्र एकाग्रताका साथ लाग्ने हो भने अहिले देशमा देखिएका बिकृती र अधिकांस समस्या समाधान हुन्छन।अहिले सरकार प्रमुखहरु जनहित भन्दा ब्यक्ती लाभ,स्वार्थ तथा आफ्नो सत्ता लम्बाउन अवांछित तत्वहरु संग सांठगांठ गर्नाले अनेक बिकृती जन्मेका छन।ब्यक्तीको कारण लोकतान्त्रिक प्रणाणी प्रतीनै मानिसले सन्देह गर्न लागेका छन।लोकतान्त्रिक प्रणाली उत्तम प्रणाली हो।यसको सुसंचालनको लागी नेतृत्व पनी योग्यतम चाहिन्छ।तसर्थ योग्य ब्यक्तीको छनौट गर्न सक्यौं भने राष्ट्र तथा जनताको कल्याणको साथै पार्टीले पनी गौरवान्वित हुने अवसर पाउदछ।
  12. ५) नेपाली काँग्रेस प्रजातान्त्रिक बिचार राख्नेहरुको पार्टी हो।प्रजातान्त्रिक बिचार राख्छु भनेर मात्र हुदैन,ब्यक्तीको चरित्र पनी प्रजातान्त्रिक हुनु पर्दछ।प्रजातान्त्रिक ब्यक्तीमा सहिष्णुता हुनु जरुरी छ।आलोचना सहन नसक्ने ब्यक्ती प्रजातान्त्रिक हुन सक्दैन।यस्ता ब्यक्ती बदलाको भावना बाट ग्रसित हुन्छन।प्रजातन्त्रमा बदलाको भावना अग्राह्य छ।छनौट गर्दा तुलनात्मक रुपमा सहिष्णु,प्रजातान्त्रिक चरित्रवान,धीर,स्वच्छ र निर्मल चरित्र भएको ब्यक्ती चुन्नु हाम्रो जिम्मेदारी हो।असहिष्णु,आबेगी,अहंकारी ब्यक्ती लाइ मत दिनु पार्टीलाइ हानी पुर्याउनु हो।
  13. यि कुराहरुलाइ बिचार गरेर नेतृत्व छनौट गर्न सक्यौं भने चौधौं अधिवेशन काँग्रेसको लागी उत्साह भर्ने अवसर बन्न सक्छ  । यो लेख आजको नागरिक पत्रिकामा प्रकाशित छ ।
  •  लेखक ः नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य एवम् पुर्वमन्त्रि हुन् ।