बाआमाले दिने आशीर्वाद असल मान्छे बनेस ,नेता नवनेस !!”

371

कृष्ण आचार्य , सन्धिखर्क १० । पैसा त नेताहरुले धेरै कमाउँथे, नमस्ते पनि धेरै नेताहरुले नै खान्थे । तर पनि बाआमाहरुले कहिल्यै नेता भएस्, मन्त्री, प्रधानमन्त्री भएस् भनेर आशिर्वाद दिनुभएन । वहाँहरुले डाक्टर भएस् भन्नुभो, इन्जिनियर भएस् भन्नुभो । डाक्टरले ज्यान बचाउँछ भन्ने वहाँहरुलाई थाहा छ तर कैयन् राजनीतिक नेतृत्वले ज्यान लिएको पनि वहाँहरुले देख्नुभएको छ । इन्जिनियरले भौतिक संरचनाहरु बनाएको वहाँहरुले देख्नुभएको छ तर नेताहरुले संरचना भत्काएको पनि देख्नुभएको छ । डाक्टरहरुले, मास्टरहरुले जे हो त्यो सत्य भन्छन् तर नेताहरुले ज्यादा झुठ बोल्छन् । यही कारणले होला बाआमाहरुले सन्तानलाई असल मानिस बनोस् भनेर आशिर्वाद दिनुभयो, नेता बनोस् भनेर आशिर्वाद दिनुभएन । बरु कसैले हावादारी गफ लगाएको थाहा पाउँदा भन्नुभो, “वाहियात कुरा गरेर नेता नबन् !”

नेता हुनु भनेको खराब हुनु हो भन्ने विचार कसरी हाम्रो मनस्थितिमा पलाउन थाल्यो होला ? देशलाई जहानिया राणा शासनबाट मुक्त गर्ने आन्दोलनलाई नेतृत्व गर्ने नेताहरु नै थिए । देशलाई निरङ्कुश पंचायती शासनबाट बहुदलीय प्रजातन्त्रमा डोहोर्याउने जनसागरको बहावलाई सही प्रवाह दिने पनि नेताहरु नै थिए । माओवादी युद्धले त्राहीमाम बनाएको देशमा निरङ्कुश राजाले शासनसत्ता हातमा लिँदा त्यो अवस्थाबाट शान्ती र लोकतान्त्रिक गणतन्त्रको बाटोमा देशलाई हिँडाउने पनि नेताहरु नै थिए । तर यति हुँदाहुँदै पनि किन बाहरुले सरकारी जागिरे भएस्, मास्टर भएस् भन्नुभो, नेता बनेस् भन्नुभएन ?

असल आचरण र त्याग अनि निष्ठा बोकेका नेताहरु इतिहास भैसके । न त आज कृष्णप्रसाद भट्टराई जस्ता सन्त नेताहरु छन्, न त गणेशमान सिंह जस्ता हातमै आएको प्रधानमन्त्री पद अस्वीकार गर्ने राजनेता छन् । नेल्सन मण्डेला, गान्धीजस्ता ठूलो परिवर्तनलाई नेतृत्व गरिसकेपछि सत्ताको छिनाझपटीमा नलाग्ने नेताहरु आजकल पाउँदै पाइन्नन् । भ्रष्टाचारको आहालमा चुर्लुम्मै डुबेर मृत्युशैयासम्म पदमा लिसो टाँस्सिएझैं टाँस्सिने चरित्र भएका नेताहरुको बोलवाला भएको ठाउँमा आफ्ना सन्तानहरु पनि नैतिकपतन भएर क्षणिक सुखसुविधाको लोभमा बाटो नबिराउन् भनेरै होला सायद बाआमाहरुले भन्नुहुन्छ, ‘नेता नबनेस् ।’

कुरा नेता बन्नु या नबन्नुको मात्र हैन । कुरा राजनीतिमा कस्ता मान्छे आउने भन्ने हो । सही के हो र गलत के हो भन्ने ठम्याउन सक्ने, न्याय के हो र धर्म के हो भनेर बताउन सक्ने सत्चरित्र भएका चेतनशील मान्छेहरु राजनीतिमा नआउँदासम्म राजनीतिप्रतिको बितृष्णा पुस्तान्तर भएर गैराख्छ र त्यसले समाजको सकारात्मक रुपान्तरणको गति धीमा बनाइराख्छ ।

हामीले विद्यार्थी छँदा देखिनै झोलामा तरबार र खुकुरी लिएर कलेज छिर्ने विद्यार्थी नेताहरु देख्यौं । विद्यार्थीको हकहितमा काम गर्नुपर्ने संगठनका नेताहरु ठेक्कापट्टा र टेण्डरका लागि भिडेका देख्यौं । वातावरण विज्ञान पढाइ हुने कलेजकै अगाडि त्यसका विद्यार्थी नेताहरुले टायर बालेको देख्यौं । सुसंस्कृत राजनीतिको शुरुवात हुनुपर्ने प्राज्ञिक ठाउँबाट नै प्रदुषित आचरण बोकेर निस्किएकाहरुले देशको राजनीति संग्लो बनाउलान् भनेर कसरी आशा राख्न सकिन्छ र ? जसले अर्को संगठनको मान्छेको हात छिन्ने गरेर खुकुरी हान्न सक्यो त्यो नै उपल्लो कमिटीहरुमा मनोनित हुँदै जाने परम्पराले सैद्धान्तिक र वैचारिक राजनीतिलाई किनारा लगाइदिनु नै थियो ।

प्राज्ञिक थलोको अवस्था यस्तो भैरहेको अवस्थामा निष्ठावान् कार्यकर्ताहरुको भीडबाट ठेक्कापट्टा र गुण्डागर्दीबाट अकुत सम्पत्ति र बाहुबल हासिल गरेकाहरु माथि निस्किनु र चुनावको टिकट हासिल गर्नु नौलो भएन । बाहुबल र सम्पत्तिको बलमा राजनीतिक शक्ती मिस्सिँदा खराब नेताको चयन हुन पुग्यो । र यो एउटा यस्तो संयन्त्र बन्न पुग्यो कि हामी पुस्तौंसम्म यस्तै नेतृत्वबाट शासित हुन अभिशप्त भयौं ।

केही पूर्वमन्त्रीहरु कोही सामुहिक हत्याको मुद्दामा जेलभित्र छन्, कोही अपहरणको मुद्दामा । केही भ्रष्टाचारको आरोपमा मुद्दा खेपिरहेछन् त केहीलाई यौन दुराचारको आरोप लागेको छ । आजको दिनमा कुनै पनि संगिन आरोप नलागेका नेता बिरलै होलान् । धेरै पछाडि जानै पर्दैन, अपराधको दुनियामा कुख्यात बनिसकेका मान्छेहरु समेत मन्त्री बनेको हामीसँग निकट इतिहास छ