कांग्रेस अर्घाखाँचीको नेतृत्व लिन नेताहरु दौडधुपमा,कस्ले मार्ला बाजि ?

372

सन्धिखर्क । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय नेतृत्वका लागि रस्साकस्सी जति बढ्दो छ, जिल्ला नेतृत्वका लागि पनि उत्तिकै कसरत भइरहेको छ ।

कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार मंसिर ६ मा एक मात्र निर्वाचन क्षेत्र भएका जिल्ला र मंसिर १० मा २ वा २ भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला नेतृत्व चयनका लागि अधिवेशन हुँदैछ । यस्तै अर्घाखाँची जिल्लामा मंसिर ३ गते प्रदेश सभा निर्वाचन क्षेत्रिय अधिवेशन र ६ गते जिल्ला अधिवेशन हुँदै छ ।

१३ औं महाधिवेशनमा जिल्ला सभापतिमा विष्णु प्रसाद खनाल सर्वसम्मत बनेका थिए । स्थानिय निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई विजयी बनाउन उल्लेखनिय भुमिका खेलेका खनाल पुनः जिल्ला सभापतिमै उठ्ने भनेर चुनावी अभियानमा लागेका छन् । खनाल रामचन्द्र पौडेल समुहका नेता हुन् ।

सबैभन्दा पहिले क्रियाशील सदस्यताको सूची केन्द्रमा बुझाउने जिल्ला बनेको अर्घाखाँची कांग्रेसको नेतृत्व लिन झण्डै आधा दर्जन नेताहरु प्रत्याशी बनेका भए पनि जम्मा ४ जना नेताहरुले मात्रै उम्मेदवारी दिने घोषणा गरेका छन् ।

जिल्ला सभापतिको नेतृत्व लिन युवा नेताहरु अग्रसर छन् । १३ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधीमा सबैभन्दा बढी मत ल्याएर विजयी भएका इन्द्रमणि पौडेल सभापतिका रूपमा बलिया उम्मेदवार रहेको बुझिन्छ । महाधिवेशन प्रतिनिधि पौडेल अर्घाखाँची कांग्रेसका युवा नेता हुन् । उद्यमशीलता र युवा रोजगारीलाई प्राथमिकता दिएको बताउने पौडेलले आसन्न जिल्ला अधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरि प्रचारप्रसारमा जुटेका छन् ।

शिक्षक संघका अध्यक्ष रहेका यादवप्रसाद घिमिरे अर्घाखाँची कांग्रेसको सभापतिका अर्का दावेदार हुन् । नेपाल शिक्षक संघको जिल्ला अध्यक्ष रहेका घिमिरे अधिवेशनमा प्रतिस्पर्धा गर्न शिक्षक पेशाको जागिर छोडेर मैदानमा उत्रिएका छन् । । उनले भने जिल्ला सभापतिमा शेरबहादुर देउवा पक्षबाट आफूले उम्मेदवारी दिने बताएका छन् ।

कांग्रेस नेता महासमिति सदस्य केशव श्रेष्ठ पनि सभापतिको उम्मेदवारका रुपमा अघि बढेका छन् । तरुण दल हुँदै पार्टी राजनीतिमा सक्रिय श्रेष्ठ सभापति बन्न लागेकाले उम्मेदवारी घोषणा गरेर चुनावी प्रचारप्रसारमा जुटेका छन् ।

महाधिवेशन प्रतिनिधी इन्द्रमणि पौडेल भने कुनै गुटमा देखिएका छैनन् । युवा स्वरोजगार दिलाएको भन्दै जित सुनिश्चित हुन युवा टिमबाटै उम्मेदवार बन्ने सम्भावना रहेको कांग्रेसका कार्यकर्ताहरुले बताएका छन् ।