सरकारले पर्यटकीय गतिबिधी बढाउन आकर्षक प्याकेज ल्याउनुपर्छ’

49

काठमाडौँ, १९ मङ्सिर । पर्यटन व्यवसायी निलहरि बाँस्तोलाले लामो समयदेखि कोरोनाले थला परेको नेपालको पर्यटन उद्योगलाई गति दिन सरकारले आकर्षक प्याकेज ल्याउनुपर्ने बताउनुभएको छ ।
कोभिडले थलिएको पर्यटन र सरकारले चाल्नुपर्ने पहलकदमीबारे वरिष्ठ पर्यटन व्यवसायी बाँस्तोलासँग गरिएको कुराकानीमा उहाँले कोभिडले थला परेको पर्यटन क्षेत्रलाई पुनउत्थान गर्नका लागि सरकारले पर्यटकलाई फ्रि भिषा, विश्व सम्पदा सूचीमा सुचिकृत स्थान घुम्नका लागि विशेष छुट ल्याउनुपर्ने बताउनुभएको हो ।

“सरकारले पर्यटकीय गतिविधी बढाउनका लागि सार्क राष्ट्रका व्यक्तिलाई नेपाल प्रवेशमा ‘फ्रि’ भिषाको व्यवस्था र आकर्षक प्याकेजको व्यवस्था गर्नुपर्छ,” – उहाँले भन्नुभयो । एशियन हेरिटेड गुप्रअन्तर्गत ट्रेकिङ, ट्राभल्स, होटल, एक्सपोर्ट, इन्पोर्ट, कार्गो, हस्तकला निर्यात र एशियन हेरिटेज फाउण्डेशनमार्फत स्वास्थ्य र शिक्षा क्षेत्रमा सामाजिक कार्य गर्दै आउनुभएका बाँस्तोलाले सरकारले पछिल्लो समय कोरोनाको कम प्रभाव रहेको बङ्गलादेश, भारत, चीन, थाइल्याण्ड, कम्बोडियालगायतका देशका पर्यटकलाई लक्षित गरेर पर्यटकीय गतिबिधी सञ्चालन गर्नुपर्ने बताउनुभयो । ट्रेकिङ, टुर्स र धार्मिक पर्यटकलाई जोड्नुपर्ने उहाँको भनाई छ ।

उहाँले पछिल्लो समय पर्यटकीय गतिबिधी बढेपनि यथेष्ट नभएको गुनासो गर्नुभयो । पर्यटन व्यवसायी बाँस्तोलाले पछिल्लो समय दक्षिण अफ्रिकाबाट देखिएको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का कारण विस्तारै तंग्रीन लागेको पर्यटन क्षेत्र फेरी समस्यामा जाने हो की भन्ने चिन्ता व्यक्त गर्दै उहाँले यसको रोकथाम र नियन्त्रणका लागि सरकारले छिटो भन्दा छिटो आवश्यकक व्यवस्था गर्न जरुरी रहेको बताउनुभयो । उहाँले नयाँ भेरियन्ट नेपाल भित्रिन नदिन नाकाहरुमा उच्च सर्तकता अपनाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।

हेरिटेड गुप्रअन्तर्गत विभिन्न होटलमा समेत लगानी विस्तार गर्नुभएका वरिष्ठ पर्यटन व्यवसायी बाँस्तोलाले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सरकारले विशेष प्याकेजको घोषणा गर्नुपर्ने बताउनुभयो ।
आन्तरिक पर्यटन प्रवद्र्धनका लागि कर्मचारीलाई सरकारले दिएको पर्यटन विदा कार्यान्वयन भएको छ की छैन त्यसलाई कडाई गर्नुपर्ने, विभिन्न कलेजका विद्यार्थीलाई पर्यटकीय प्याकेज बनाएर घुम्ने वातावरण निर्माण गर्नुपर्ने उहाँको भनाई छ ।

पर्यटन प्रवद्र्धनका लागि स्थानीय सरकारमार्फत खर्च भएका वजेट पर्यटकीय गन्तव्यको विकासमा खर्च भइरहेको छ की छैन अनुगमन गर्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो । पर्यटन क्षेत्रबाट व्यवसायीहरु विस्तापित हुने अवस्था आएको भन्दै उहाँले वजेट र मौद्रीक नीतिमार्फत सरकारले घोषणा गरेका कार्यक्रमहरुपनि कार्यान्वयनमा जान नसकेको अहिलेको परिपेक्षमा तत्काल कार्यान्वयनमा लग्ने गरी सरकारले ठोस कार्ययोजना बनाउन जरुरी रहेको उहाँले बताउनुभयो ।

सडक सञ्जाल विस्तारका कारण स्थापित पदयात्रामार्गहरु छोटिन गएको वर्तमान अवस्थामा पर्यटहरुको बसाई लम्ब्याउन नयाँ नयाँ पदमार्ग खोजी र विकासमा तीनै तहको सरकारको ध्यान जानु जरुरी रहेको उहाँको भनाई छ । कोरोना महामारीका कारण प्रताडित पर्वतीय पदयात्रा पर्यटनमा संलग्न व्यवसायीहरुको हितका लागि अहिलेको अवस्थामा सरकारी तवरबाट खासै प्रयास नभएको भन्दै उहाँले विदेशी मुद्रा आर्जनमा राष्टलाई महत्वपूर्ण योगदान गर्दै आएका यस्ता व्यवसायीहरुलाई संकटको समयमा संरक्षण गर्नु राज्यको प्रमुख दायित्व भएको बताउनुभयो ।