पौडेल पक्षीय युवा नेता तथा जिल्ला सभापतिहरूकाे धारणा: पहिलाे राेजाई शेखर काेईराला

520

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय युवा नेताबीच छलफल सुरु भएको छ । विहीबार विहान ९ : ४५ बजेबाट बत्तीसपुतलीमा सभापति उम्मेदवार छनोटमा विकल्पसहितको दबाब सिर्जनाका लागि बैठक बसिरहेको नेता जीवन परियारले बताए ।

मंगलबारबाट घनिभूत छलफलमा रहेको पौडेल पक्षले सभापतिमा साझा उम्मेदवार तय गर्न सकेको छैन। मंगलबार सभापतिका दाबेदारसहित केन्द्रीय नेताहरुको छलफल भएको थियो भने बुधबार विहान पौडेल पक्षका केन्द्रीय सदस्य, प्रदेश सभापति, जिल्ला सभापतिहरूको भेलाले पनि सभापतिमा साझा उम्मेदवार चयनका लागि दबाब दिएको थियो । तर बुधबार साझा सभापतिका दाबेदार नेता पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइरालाबीच भएको छलफलमा पनि साझा उम्मेदवार तय हुन सकेन ।

उक्त छलफलमा केसीले सभापतिमा शेखरलाई अघि बढाउनुपर्नेमा जोड दिएको बताइएको छ । “मेरो पहिलो रोजाइ शेखर कोइराला हुनुपर्छ भन्ने हो ।

जिल्ला–जिल्लाका साथीहरूले पनि शेखरलाई अघि बढाउनुपर्ने सुझाव दिनुभएको छ,” केसीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, “यदि, त्यसो हुन नसके सबैलाई व्यवस्थापनसमेत गर्ने गरी रामचन्द्र पौडेलको पक्षमा जानुपर्छ ।”

संस्थापनइतरबाट सभापतिका चार आकांक्षीमध्ये शेखरको पक्षमा राम्रो माहोल रहेको उनको भनाइ थियो । शेखरलाई अघि बढाएर पौडेललाई सम्मानजनक स्थान दिनुपर्ने मत उनले व्यक्त गरे ।

यस्तै, नेता थापाले पनि सभापतिमा शेखर कोइरालालाई अघि बढाउनुपर्ने बताएका छन् । उनले काठमाडौंको राजनीतिमा आफू नेता प्रकाशमान सिंहनिकट रहे पनि राष्ट्रिय राजनीतिमा शेखरलाई अघि बढाउनुपर्ने पक्षमा रहेको धारणा छलफलमा राखे ।

“शेखर कोइरालालाई अघि बढाउँदा राम्रो हुन्छ । क्राउड पनि उहाँको पक्षमा देखिएको छ,” नेता गगन थापाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, “उहाँको नाममा सहमति नजुट्ने हो भने रामचन्द्र पौडेललाई सभापति बनाउनुपर्छ ।” शेखर सभापति बनेको अवस्थामा पौडेललाई उचित व्यवस्थापन गर्नुपर्ने उनको भनाइ थियो । शेखर काेईरालालाई सभापति बनाउनुपर्नेमा अधिकाशं जिल्ला सभापतिहरूकाे पनि लविङ रहेकाे छ।