सिंहदरबारकै झल्को आउने मालारानी गाउँपालिकाको प्रशासकीय भवन

128

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । मालारानी गाउँपालिकाले सिंहदरवारकै झल्को दिने विशाल र सुविधा सम्पन्न प्रशासकिय भवन निर्माण गरेको छ । करिब साढे तिन करोड रुपैयामा सुविधा सम्पन्न भवन निर्माण गरिएको पालिकाले जनाएको छ ।

मंगलवार एक कार्यक्रमका बिच प्रदेशसभा सांसद तथा पुर्व प्रदेश मन्त्री चेतनारायण आचार्यले सो भवनको उद्घाटन गरेका छन् । प्रशासकीय भवन उद्घाटन गर्दै सांसद आचार्यले मालारानी गाउँपालिकाले विकास निर्माणको क्षेत्रमा फड्को मारेको बताए। उनले संघीयताले सिंहदरवारको अधिकारलाई गाउँ तहसम्म ल्याएको अनुभुति दिलाएर काम गर्नुपर्ने बताए । आगामी दिनमा प्रदेश सरकारबाट खानेपानी, सडक, कृषि, विभिन्न विकास निर्माणका लागि बजेट भित्राउन पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

खनदह बजार नजिकै निर्माण भएको प्रशासकिय भवन ३ करोड ४५ लाख ७८ हजार रुपैयाँ लागतमा सम्पन्न भएको हो । भवनको जयमाता इन्जिनियरिङ्ग कन्स्ट्रक्सन लिमिटेड र खाँची निर्माण सेवा काठमाण्डौले जिम्मा पाएको थियो । यस्तै जडिबुटी संकलन केन्द्र र नागरिक आरोग्य सेवा केन्द्रको भवन समेत आजै उद्घाटन गरिएको छ।

भवन उद्घाटन कार्यक्रममा सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक, धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेल, प्रमुख जिल्ला अधिकारी हरीप्रसाद घिमिरे, पत्रकार महासंघ जिल्ला अध्यक्ष अशोक खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सबै वडाका वडाध्यक्ष, राजनितीक दलका प्रतिनिधी, प्रहरी नायव उपरिक्षक, सशस्त्र प्रहरी नायव उपरिक्षक, पत्रकार, पालिकाका कर्मचारी लगायत स्थानियवासीको उपस्थिती रहेको थियो ।

सांसद आचार्यले गाउँपालिकाले निर्माण गर्न लागेको भागिरथि स्मृति प्रतिष्ठान केन्द्रको शिलान्याश पनी गरेका छन् । गाउँपालिका योजना अधिकृत नेत्रप्रसाद खनालले प्रशासकीय भवन निर्माणमा भएको खर्च विवरण पेश गरेका थिए। गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यको अध्यक्षता, उपाध्यक्ष प्रमिला क्षेत्रीको स्वागत मन्तव्य र प्राविधिक हरिशचन्द्र पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

सिंहदरवार गाउँमै बनेको भन्दै स्थानियवासीहरु खुशी भएका छन् ।