स्वामी केशवानन्दलाई विद्यावारिधि उपाधि

240

काठमाडौँ ।  नेपाल संस्कृत विश्वविद्यालयले स्वामी केशवानन्द गिरीलाई नव्यव्याकरण विषयमा विद्यावारिधि उपाधि प्रदान गरेको छ । विश्वविद्यालय अनुसन्धान केन्द्रको सिफारिसमा ‘पाणिनीयाष्टाध्याथ्यामद्वैतवादः’ अर्थात् ‘पाणिनिको अष्टाध्यायीमा अद्वैतवाद’ शीर्षकमा स्वामी केशवानन्द गिरीलाई विद्यावारिधि उपाधि दिइएको परीक्षा नियन्त्रक डा. बाबुराम आचार्यले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।

महेश सन्यास आश्रमले सञ्चालन गरेको महेश गुरुकूलमा अध्ययन गरी त्यहीँको प्रधानाध्यापकका रुपमासमेत सेवा गरिसकेका गिरी पछिल्लो समय पूर्वीय दर्शनलाई प्रविधिसँग जोडेर आममानिसलाई पठनपाठनमा सहजता बनाउने अभियानमा लागेका छन् । उनले चार लाख शब्द समावेश भएको संस्कृत-नेपाली विद्युतीय शब्दकोश तयार गरी सार्वजनिक गरेका छन् ।

शब्दकोशमार्फत उनले पूर्वीय दर्शनलाई प्रविधिसँग जोड्नेका छन् । शब्दकोशबाट संस्कृत, नेपाली, अङ्ग्रेजी र हिन्दी चार भाषाका शब्दको अर्थ थाहा पाउन सकिन्छ । शब्दकोश एण्ड्रोइड मोबाइलमा डाउनलोड गरी प्रयोग गर्न सकिन्छ । यसैगरी केएन स्वामी डटकममा पनि शब्दकोश हेर्न सकिन्छ ।

केशवानन्द हाल राष्ट्रिय गुरुकूल परिषद् नेपालका अध्यक्षसमेत हुन्। परिषद्मार्फत देशभरका गुरुकूलको स्तरोन्नति एवं पठनपाठन सुधारमा केशवानन्दले ध्यान केन्द्रित गर्दै आएका छन् । पूर्वीय दर्शनका विभिन्न पुस्तकलाई आधुनिक साजसज्जासहित शुद्ध स्वरुपमा प्रकाशन गरिदिएर पनि उनले पूर्वीय दर्शनको ज्ञान लिन चाहनेका लागि ठूलो अवसर प्रदान गरेका छन् ।