सांसद् दवाडीले गोरखामा विद्यालयलाई ५० हजार सहयोग गरे

300

काठमाडौं, १३ पुस, २०७८। गोरखा २ को (ख) प्रदेशबाट निर्वाचित नेपाली कांग्रेसका सांसद प्रकाशचन्द्र दवाडीले गोरखाको सिरानचोक गाउँपालिका ५ मा रहेको श्री चित्रे पोखरी माविलाई ५० हजार रुपैंया सहयोग गरेका छन् । कांग्रेसका गण्डकी प्रदेश कार्यसमितिका नवनिर्वाचित सदस्यसमेत रहेका उनले आफ्नो व्यक्तिगत खाताबाट एभरेष्ट बैंकमार्फत सो रकम विद्यालयलाई उपलब्ध गराएका हुन् ।

सांसद दवाडीले विद्यार्थीको अध्ययनलाई सहज होस् भनेर सहयोग गरेको जनाए । ‘मैले स्कुल पढ्दा धेरै दुःख गरें, अरुलाई त्यस्तो समस्या नहोस् भनेर केही सहयोग गरेको हुँ’ सांसद दवाडीले भने ‘ विद्यार्थीहरु समस्यामा परेको सुनेको थिएँ, त्यो सुन्दा मन दुखेको थियो अहिले सन्तुष्ट छु ।’ उनले दिएको सो रकमबाट विद्यालयले १० जना जेहेन्दार विद्यार्थीलाई कापी, किताब र पोशाक किनिदिने जनाएको छ । वि.स. २०१५ सालमा स्थापना भएको विद्यालय २०५६ सालमा मावि भएको थियो । यो विद्यालयमा १ सय ५० जना विद्यार्थी अध्ययन गर्छन् ।

विद्यालय रहेको वडाका नेपाली कांग्रेसका इकाई सभापति विष्णुप्रसाद पोखरेलले विद्यालयले गुणस्तरीय शिक्षा दिँदै आएको बताए । उनले विद्यालयको शैक्षिक स्तर वृद्धि गर्न सबैको सहयोग आवश्यक रहेकोमा जोड दिए । गत वर्ष भएको ६३ औं वार्षिकोत्सवमा प्रमुख अतिथिको रुपमा सहभागी भएका सांसद् दवाडीले त्यतिबेला नै विद्यालयलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

विद्यालयले मंगलबार ६४ औं वार्षिकोत्सव मनाउँदैछ, त्यही कार्यक्रममा विद्यालयले सांसद दवाडीले गरेको सहयोगबाट सामग्री किनेर ती विद्यार्थीलाई वितरण गर्नेछ । सांसद् दवाडी गाउँको विकास निर्माणमा सक्रिय बन्दै आएका छन् ।

‘मेरो राजनीति समाजसेवाका लागि, मेरो राजनीति तपाईंहरुको सेवाको लागि’ भन्ने मुख्य नारा बनाएका उनले यो नारालाई सार्थक बनाउँदै लगेका छन् । उनी राजनीतिलाई समाजसेवाको रुपमा लिन्छन् । उनले सांसदबापत पाउने तलब, भत्ता पनि गाउँकै सेवाका लागि लगानी गर्दै आएका छन् । उनी राजनीतिमा देखिएको भ्रष्टाचार र अनियमितताको विरुद्धमा बोल्दै आएका छन् । अधिकांश समय गाउँमा जनतासँग नै रहने उनले विभिन्न संघसंस्थालाई आफ्नो व्यक्तिगत तर्फबाट आर्थिक र भौतिक सहयोग गर्दै आएका छन् । ‘म जनताको मान्छे हुँ, मतदाताले बोलाएको ठाउँमा जान्छु र उहाँहरुको गुनासो सुन्छु’ उनले भने ‘उहाँहरुले नै जिताएर म सांसद भएको हुँ त्यसैले मैले कहिल्यै पनि आफू ठूलो मान्छे भएँ भन्ने सोचेको छैन र सोच्न पनि सक्दिन ।’ उनी बारम्वार मतदातासँग पुगेर उनीहरुको गुनासो सुन्नेमात्र होइन सकेसम्म समाधानको पहल गर्दै आएका छन् । मतदाताको समस्यालाई आफ्नै समस्या सम्झने उनी कहिले गरिब वस्तीमा पुगेर मतदातालाई आफूले लगाएको ज्याकेट प्रदान गर्छन्, कहिले बिरामीलाई उपचारको लागि आर्थिक सहयोग गर्छन् । यतिमात्र होइन काजकिरिया गर्नेसम्म आर्थिक अवस्था नभएकालाई काजकिरिया खर्च पनि दिएका छन् ।

दवाडीको कामलाई मतदाताले पनि उच्च प्रशंसा गरेका छन् । ‘कसैलाई दुःख नपरोस् भन्ने हो, अरु मानिस संकटमा पर्दा म हाँसेर हिँड्न सक्दिन’ उनले मतदातालाई सम्झँदै भने ‘अब मतदाताले मलाई जसरी पत्याउनुहुन्छ त्यो गुन तिरेरै छोड्ने छु ।’