तेस्रो लहरको साइरन: भरिन थाले अस्पताल, कडाइ गर्दै सरकार

180

काठमाडौं, २६ पुस ।

कोरोना संक्रमणको तेस्रो लहरको ‘साइरन’ बजेको छ । अघिल्लो सोमबार २.६० प्रतिशत रहेको संक्रमणदर त्यसयता निरन्तर उकालो लागेर आइतबार ९.२३ प्रतिशत पुगेको छ । एकैदिन ११ सय ६७ जनामा संक्रमण देखिएको छ । यो ८ असोजयताकै सबैभन्दा धेरै हो । संक्रमण तीव्र रूपमा बढ्न थालेपछि कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी)ले १५ माघसम्म देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्नेसहित १३ बुँदे सिफारिस सम्बन्धित मन्त्रालयलाई गरेको छ । आइतबार बसेको सिसिएमसिसीको बैठकले विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित सेमेस्टर र वार्षिक परीक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्न शिक्षा मन्त्रालय र संघीय मामिला मन्त्रालयलाई सिफारिस गरेको छ ।

आधारभूत र माध्यमिक विद्यालयको बिदा वार्षिक बिदामा जोडिनेछ । विद्यार्थी र शिक्षकलाई बिदाकै अवधिमा खोप लगाइनेछ । १२ देखि १७ वर्ष उमेरका विद्यार्थीसँगै त्यसमाथिका सबै विद्यार्थी र शिक्षक, कर्मचारी र अभिभावकलाई खोप लगाउने व्यवस्था स्वास्थ्य मन्त्रालयले गर्नेछ ।

आन्तरिक उडानमा खोप कार्ड अनिवार्य, बाह्य उडानमा ७२ घन्टाभित्रको पिसिआर रिपोर्ट
हवाई उडानमा पनि यात्रुको भिडभाड कम हुने गरी उडान तालिका मिलाउन सिसिएमसिसीले सिफारिस गरेको छ । ७ माघपछि आन्तरिक हवाई यात्राका लागि खोप कार्ड हुनेले मात्र बोर्डिङ पास पाउनेछन् ।

 सिडिओले ‘स्मार्ट लकडाउन’ गर्न सक्ने 
‘स्मार्ट लकडाउन’ गर्ने विषयमा पनि गृहकार्य भएको छ । आवश्यकता अनुसार यसका लागि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीलाई  निर्देशन दिन सक्नेछ । आजको नयाँ पत्रिकामा समाचार प्रकाशित छ ।