कोरोना संक्रमण तीव्र रूपले बढ्देपछि देशभरका ३५ हजार विद्यालयमा १९ दिन बिदा

71

काठमाडौं, २७ पुस । कोरोना संक्रमण तीव्र रूपले बढ्न थालेपछि शिक्षा मन्त्रालयले विद्यालय तहका शैक्षिक कार्यक्रम बन्द गरी देशभरका करिब ३५ हजार विद्यालयमा बिदा दिने निर्णय गरेको छ ।

विश्वविद्यालयको पठनपाठनका विषयमा भने कुनै निर्णय नभएपनि मन्त्रालयले विद्यार्थीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै १५ माघसम्म बिदा दिने निर्णय गरेको हो । परीक्षाका कार्यक्रम भने जनस्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्ने बताएको छ ।

आइतबार बसेको कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) को सिफारिसअनुसार मन्त्रालयले विद्यालयमा बिदा दिने निर्णय गरेको हो । बिदाको अवधिमा विद्यालयहरूले सिकाइ सहजीकरण निर्देशिका, २०७७ अनुसार विद्यार्थीको सिकाइमा आवश्यक सहजीकरणको प्रबन्ध मिलाउन शिक्षा मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले विश्वविद्यालयका वार्षिक तथा सेमेस्टर प्रणालीका पूर्वनिर्धारित परीक्षाका कार्यक्रम जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पूर्ण रूपमा पालना गरी सञ्चालन गर्न आग्रह गरेको छ ।