लुम्बिनी प्रदेश सरकारले हटायो अस्पताल विकास समितिका पदाधिकारी

128
अर्घाखाँची जिल्ला अस्पताल । फाईल तस्विर ।

बुटवल,२७ पुस ।  कोरोना संक्रमण बढिरहेका बेला अस्पतालको भूमिका बढाउनु पर्ने बेला लुम्बिनी प्रदेश सरकारले भने प्रदेशका अस्पतालहरुलाई पदाधिकारीविहीन बनाएको छ । प्रदेश सरकारले मन्त्रीस्तरीय निर्णय गर्दै आफ मातहतका अस्पताल विकास समितिका अध्यक्ष र पदाधिकारी हटाउने निर्णय गरेको हो ।

अघिल्लो सरकारले नियुक्त गरेका अस्पताल विकास समितिका अध्यक्ष र सदस्यहरु हटाउने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सूचना मन्त्री तिलकराम शर्माले जानकारी दिए ।

लुम्बिनी प्रदेश सरकार मातहतमा अहिले २५ अस्पताल छन् । जसमा ३ साविक अञ्चल अस्पताल, ११ जिल्ला अस्पताल, एक सरकारी अस्पताल र ११ आर्युवेद अस्पताल छन् ।

अस्पतालका पदाधिकारी हटाएको सरकारले प्रदेशका १२ वटै जिल्लामा कोरोना महामारीको रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनका सम्बन्धमा जिल्लागत अनुगमन गर्न मन्त्रीहरु संयोजक रहेको अनुगमन समिति गठन गर्ने भएको छ । जसअनुसार सबै मन्त्रीहरुलाई जिम्मा दिएर अस्पताल अनुगमनदेखि रोकथामका काम गरिने प्रवक्ता शर्माले बताए ।