ढाडमा टेकेर टाउकोमा हान्न खोज्दा प्रचण्ड र माधव सडकमा: मुख्यमन्त्री पोख्रेल

170

प्रेमनारायण आचार्य/सन्धिखर्क : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डले ढाडमा टेकेर टाउकोमा हान्न खोज्दा सडकमा पुगेको बताएका छन् ।

नेकपाका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपालको ढाडमा टेकेर अध्यक्ष केपी शर्मा ओलीको टाउकोमा हिर्काउन खोज्दा उनीहरु असफल भएको बताएका हुन्।

नेकपा अर्घाखाँचीले सन्धिखर्कमा गरेको बृहत् आमसभा तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले भने, ‘प्रचण्डले सशस्त्र द्वन्द्वको समयमा कसकसको ढाडमा टेकेर कसकसको टाउकोमा हान्नु भयो उहाँले जान्ने कुरा हो । तर पार्टी एकताको प्रकृया टुंगाउने समयमा  माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोज्दा आफै सडकमा पछारिएर बिलौना गाउन सुरु गर्नु भएको छ ।’

उनले ५ वर्षलाई म्यान्डेट पाएको प्रतिनिधिसभा विघटन गर्दैमा प्रतिगमन नहुने बताए । नयाँ जनादेशका लागि निर्वाचनको मिति तोक्ने काम अग्रगमन हो । कसैले पनि यसलाई प्रतिगमन भन्न नहुने बताए । प्रतिनिधिसभा विघटन हुँदैमा संघीयता, गणतन्त्र केही खारेज नहुने उनको भनाइ छ ।

प्रचण्डलाई अध्यक्ष र कार्यकारी पद दिँदा पनि उनी काम गर्न नसकेका कुरा प्रचण्ड पक्षलाई जनताले खोज्न पर्ने अवस्था सिर्जना भएको छ ।

माधव र प्रचण्डजी निर्वाचनमा जान डराएको उनको आरोप छ । निर्वाचनमा जान डराएर निर्वाचन आयोगमा पुगेर निर्वाचनका काम अगाडि नबढाउन आग्रह गरेको देखिएको उनको आरोप छ । जनताको म्यान्डेट अनुसार निर्वाचनमा गएर चुनाव जितेर देखाउन उनले प्रचण्ड र माधव पक्षलाई चेतावनी दिएका छन् ।

केपी ओलीले चुनावी सभालाई सम्बोधन गरेर माधव र प्रचण्डले निर्वाचन जितेको उनको भनाइ छ । नेकपा केपी ओली प्रधानमन्त्री हुने भनेर निर्वाचनमा गएको र ओलीलाई प्रधानमन्त्रीबाट आफ्नै पार्टीका नेताले हटाउन खोजेपछि बाध्य भएर प्रतिनिधिसभा भंग गर्नु परेको उनको भनाइ छ ।

कार्यक्रममा नेकपाका नेता तथा खानेपानी मन्त्री मणि थापा, राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम नेकपाका जिल्ला अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षता र तोजबहादुर रायमाझीको सञ्चालनमा सम्पन्न भएको हो ।