स्थानीय तहको चुनाव पर धकेल्ने सरकारको मनसाय, आयोगले बोलायो शुक्रबार सर्वदलीय बैठक

92

काठमाडौँ, २९ पुस । प्रमुख विपक्षी नेकपा एमालले सरकार निर्वाचनबाट भागेको आरोप लगाइरहेका बेला निर्वाचन आयोगले सर्वदलीय बैठक आह्वान गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी शुक्रबार दलहरूसँग परामर्श गर्न बैठक आह्वान गरेको जानकारी दिए ।

उनका अनुसार आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचन र हाल जारी रहेको मतदाता नामावली संकलनबारे जानकारी गराउने तथा स्थानीय तहको मिति तय गर्नेबारे बैठकमा छलफल हुनेछ ।

आयोगका पदाधिकारीले गत ९ पुसमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर १४ वैशाख र २२ वैशाखमा स्थानीय चुनाव गर्न प्रस्ताव गरेका थिए । तर, सरकारले त्यसबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन ।

बरु प्रमुख विपक्षी एमालेले सरकार र सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन हुन नदिने षड्यन्त्र गरिरहेको आरोप लगाएको छ । अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन महिनाभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गराउनुपर्ने सरकार स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्रमा लागिरहेको आरोप लगाएका छन् ।

अहिले नेपालमा कोरोना संक्रमण आक्रामक गतिमा फैलिरहेको छ । कोरोना बढ्दै जाँदा निर्वाचन तालिका समेत प्रभावित हुने सम्भावना छ । तर आयोगका प्रवक्ता शर्माले माघ १२मा तोकिएको राष्ट्रियसभाको उपनिर्वाचन निर्धारित मितिमै हुने बताए ।