प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम राख्ने प्रस्ताव पारित

513

जनकपुर, ३ माघ । प्रदेश नं. २ को स्थायी राजधानी जनकपुरधाम राख्ने प्रस्ताव पारित भएको छ । कुल १ सय ४ सदस्य रहेको प्रदेश २ सभाको आजको बैठकमा ९९ जना सहभागी थिए । जसमध्ये मतदानमा स्थायी राजधानी जनकपुरधामको पक्षमा ७८ मत परेको छ । प्रदेशसभामा रहेका सबै दल जनकपुरधामलाई राजधानी बनाउन सहमत थिए । तर, पर्सा र आसपासका सांसदहरू भने वीरगञ्जको अडानमा थिए ।

प्रदेशसभामा आज भएको मतदानमा सभामुख सरोजकुमार यादवले प्रदेशको स्थायी राजधानी जनकपुरधाम दुई तिहाइबाट पारित गरिएको भन्दै अन्य प्रस्ताव अस्वीकृत भएको घोषणा गरेका छन् । दोस्रो पटकको प्रयासमा प्रदेश २ को स्थायी राजधानी कायम भएको हो । यसअघि २०७६ चैत ३ मा मतदान हुँदा राजधानीको टुङगो लाग्न सकेको थिएन ।

अब प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुरको केन्द्र भई उत्तरमा ढल्केवर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यमिक परिक्रमा सडक र दक्षिण नेपालको सीमाना कायम हुनेछ । प्रदेश सभा सचिवालयका अनुसार आजै प्रदेशको नाम सम्बन्धी प्रस्ताव पनि अगाडि बढाउने तयारी छ ।