कोरोना परीक्षण निःशुल्क गर्न सरकारलाई युवा नेता शिवाकोटीको आग्रह

1007

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले कोरोना भाइरसको महामारी ब्याप्त भइरहँदा धेरै भन्दा धेरैको परीक्षण गर्नका लागि निःशुल्क परीक्षणको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।

उनले समाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै ‘कोरोना टेष्ट निःशुल्क गर, कोरोना खोप व्यापक गर, कोरोना खोप कार्ड अनिवार्य गर्न हतार नगर’ भनी सरकारलाई अभिभावकीय भूमिका खेल्न पनि आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘सरकार अभिभावक हो । हुने नहुने सबैको ख्याल राख्ने जिम्मा सरकारकै हो। तर राज्यकै निकायहरुले सरकार सबै नागरिकको आपत्विपद्को साथी र अभिभावक हैन भन्ने व्यवहार प्रदर्शित गर्दा कोरोना टेष्टका लागि एक हजार तिर्न नसकेर संचारकर्म गर्दै गरेको एउटा युवा एलबी विश्वकर्माले अनाहकमा जीवन गुमाउनुपर्यो । यो सरकारप्रति आम नागरिकको भरोसा टुट्ने घटना हो । अर्को भाषामा भन्नुपर्दा यो आम नागरिकमाथि राज्यको अपराध हो ।’

उनले गल्ती गर्ने सरकारलाई माफी माग्न पनि अग्रह गरेका छन् । उनले अगाडि लेखेका छन्, ‘यस्तो अपराधमा संलग्न भएकोमा सरकार माफी माग। गल्ती सुधार्ने घोषणा गर। प्रधानमन्त्रीज्यू तपाईको देशवासीको नाममा हुने सम्बोधनमा कोरोना टेष्ट निःशुल्क हुने घोषणा गर्नुहोस् । निःशुल्क लगाइँदै आएको कोभिड विरुद्धको भ्याक्सिन प्रभावकारी ढंगले आम नागरिकको पहुँचमा पुगोस् । आफ्ना कार्यक्रम प्रभावकारी ढंगले कार्यान्वयन नहुँदै अनावश्यक आदेश भने नदिइयोस् ।’

केन्द्रीय सदस्य शिवाकोटीले कुनै पनि निर्णय गर्नुअघि गम्भीर भएर सोच्न आग्रह गर्दै लेखेका छन्, ‘निर्णय गर्नुअघि दुईपटक विचार गर्नु बरु। लगाउन चाहनेले पनि अझै कोभिड विरूद्धको खोप लगाउन पाएका छैनन् । पहिलो खेप खोप लगाउन नपाएका नागरिकको संख्या अझै धेरै छ। बुस्टर डोज लगाउनेको संख्या न्यून छ । यो स्थितिमा खोप कार्ड अनिवार्य भनेर नागरिकको ठूलो हिस्सालाई सार्वजनिक स्थानमा प्रतिबन्ध हुने अवस्था ती नागरिकहरुमाथिको ज्यादती र मानव अधिकारको हनन हो । तत्काल यो निर्णयमा पुनर्विचार गरियोस् ।’