मन्त्री यादवको अभिव्यक्ति राजनीतिक मर्यादाविपरित : प्रदीप पौडेल

393

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको अभिव्यक्ति राजनीतिक मर्यादा विपरित रहेको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत शनिबार पौडेललले मन्त्री यादवको अभिव्यक्तिप्रति यस्तो प्रतिक्रिया जनाएका हुन् । नेता पौडेलले फरक मत राख्ने अधिकार सबैलाई भएको उल्लेख गर्दै मन्त्री यादवको अभिव्यक्ति पदीय मर्यादाविपरित भएको टिप्पणी गरेका छन् ।

‘मन्त्री यादवको अभिव्यक्ति राजनीतिक मर्यादा विपरीत छ। फरक मत र विचार राख्ने अधिकार सबैलाई हुन्छ तर, शैली मर्यादित हुनुपर्छ। हिंसालाई प्रोत्साहन दिने, द्वन्द निम्त्याउने अभिव्यक्ति सामाजिक र कानुनी रूपमा अपराध हुन् । अझ जिम्मेवार ब्यक्ति बाट यस्ता अभिव्यक्ति आउनु पदीय मर्यादाविपरित हो’, पौडेलले ट्विटरमा लेखेका छन् ।

मन्त्री यादवले रौतहटमा एक सार्वजनिक कार्यक्रममै जनमत पार्टीका अध्यक्ष डा। सीके राउतको ज्यान लिने धम्की दिएपछि उनको चर्को आलोचना हुँदै आएको छ।मन्त्री यादवले माघ ५ गते गौरमा आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत)को नाम लिएर राउतलाई गौर हत्याकाण्ड जसरी नै घेरा हाली ज्यान लिने धम्की दिएकी थिइन्।