देवघाट । मध्य नेपालको देवघाटधाममा अवस्थित परमानन्द संस्कृत गुरुकुल विद्यापीठ पौरस्त्य दर्शन सभ्यता र वाङ्मयको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले स्थापित गुरुकुल हो ।ब्रह्मलीन स्वामी परमानन्द सरस्वती महाराजद्वारा वि।सं। २०२८ सालमा गुल्मीबाट प्रारम्भ भएको यस गुरुकुलले अनौपचारिक रूपमा गुरुकुलीय शिक्षा प्रारम्भ वि।सं। २०२८ सालबाटै गरे तापनि औपचारिक रूपमा नेपाल सरकारसँग आबद्ध भई गरुकुलीय शिक्षाको आरम्भ भने वि।सं। २०५९ सालमा देवघाटधामबाट गरेको हो ।

निमावि, मावि,उच्च मावि र शास्त्री हुँदै आचार्य तहसम्म पठनपाठन भइरहेको यस गुरुकुलमा हाल लगभग ३०० जना विद्यार्थीहरूले आवासीय रूपमा संस्कृत शिक्षाको अध्ययन गरिरहेका छन् ।

ब्रह्मलीन स्वामी परमानन्द सरस्वती महाराजका प्रमुख उत्तराधिकारी श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजको अध्यक्षतामा हाल सञ्चालन भइरहेको यस गुरुकुलको प्रमुख मातृसंस्था श्रीहरिहर संन्यास आश्रम देवघाटधाम हो ।

यस आश्रमद्वारा सञ्चालित विभिन्न प्रकल्पहरू मध्ये गुरुकुल प्रकल्प पनि एक हो । यसै गुरुकुलका संस्थापक ब्रह्मलीन स्वामी परमानन्द सरस्वती महाराजज्यूकको पुण्यतिथिको अवसरमा प्रत्येक वर्ष माघ कृष्ण अष्टमीका दिन गुरुकुल परिसरमा उहाँको स्मरणमा विभिन्न बौद्धिक एवं साहित्यिक कार्यक्रमहरू सम्पन्न्न हुदैँ आइरहेका छन् ।

तदनुरूप यस वर्ष पनि यही माघ १० गते ब्रह्मलीन स्वामीज्यूको पुण्यतिथीको पूर्वसन्ध्यामा साहित्य सङ्गीत र कलाको त्रिवेणी “परमानन्द काव्य सरिता– २०७८” १३ औँ शृङ्खला आयोजना हुँदैछ ।

त्रिशूली र कालीगण्डकीको प्रवाहसँगै प्रत्येक वर्ष माघ कृष्ण सप्तमी तिथीमा प्रवाहित हुँदै आएको रात्रीकालीन साहित्य समागम परमानन्द काव्य सरिता राष्ट्रिय साहित्यिक कार्यक्रम हो । विभिन्न विधामा कलम चलाइरहेका कवि मनिषीहरूलाई निमन्त्रणा गरी नयाँ नयाँ काव्यहरूको काव्यास्वादन गर्ने यो कार्यक्रम गुरुकुलकै छात्रहरूबाट समायोजित कार्यक्रम हो ।

यस कार्यक्रममा गुरुकुलमा साधनारत स–साना बाल कविहरूका कविता सँगै राष्ट्रिय स्तरका ख्याति प्राप्त कविहरूका कविताहरू पनि गुञ्जने छन् । पूर्ववर्षहरूमा भौतिक उपस्थितिमा नै सम्पन्न हुँदै आइरहेको उक्त कार्यक्रम यस वर्ष भने कोभिडका कारण भर्चुअल माध्यमबाट हुने ब्रह्मचारी हंस चैतन्यले जानकारी दिनुभएको छ । ।