काठमाडौं- ललितपुर महानगरपालिका र महानगरीय प्रहरी परिसर जावलाखेलबीच सहरी सुव्यवस्थापनको लागि सीसीटीभी प्रणाली जडानका लागि सम्झौता भएको छ।

सोमबार ललितपुरमा एक कार्यक्रमबीच महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र महानगरीय प्रहरी परिसर जावलाखेलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेलले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। उक्त सम्झौतापत्रमा हस्ताक्षरपछि बोल्दै महानगरपालिकाका मेयर महर्जनले महानगरपालिकाले गत वर्षदेखि ललितपुर महानगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने उद्देश्यले स्मार्ट लाइट तथा सीसीटीभी जडान गर्ने नीति लिएको बताए।

उनले ललितपुर महानगरले महानगरभित्र महानगर तथा वडास्तरमासमेत सीसीटीभी जडान र व्यवस्थापन गर्दै आएको बताए। मेयर महर्जनले सीसीटीभी जडानलगायत अन्य सुरक्षाको विषयमा महानगर प्रहरी परिसरसँग नजिक बसेर सहयोग गर्दै आएको बताए। उनले महानगरले जडान गरेको सीसीटीभी नेपाल प्रहरीको केन्द्रीय सीसीटीभी प्रणालीमा जडान गर्नुपर्ने बताए। यस्तो गर्दा जडान भएका सीसीटीभीहरु निर्वाधरुपमा सञ्चालन हुनसक्ने मेयर महर्जनको भनाइ छ। उनले सीसीटीभी जडानको लागि महानगरपालिकाले दुई करोड रुपैयाँ बजेट व्यवस्थापन गरेको बताए।

त्यस्तै महानगरीय प्रहरी परिसर जावलाखेलका प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलले सीसीटीभी जडान कार्यले ललितपुर महानगरपालिकाको सुरक्षाको लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले सुरक्षाका लागि स्थानीय सरकार अभिन्न अंग भएकाले प्रहरीलाई स्थानीय सरकारको हरेक पलमा सहयोग अवश्यक गर्ने बताए।

उनले ललितपुर महानगरपालिकाले विभिन्न स्थानमा सीसीटीभी क्यामेरा जडान गर्ने गरी प्रहरीलाई दुई करोड रुपैयाँ दिएर सुरक्षाको दृष्टिले अत्यन्तै महत्त्वपूर्ण काम भएको बताए। उनले सडकमा सीसीटीभी जडान कार्यले सुरक्षा र अन्य विभिन्न कुराका लागि महत्त्वपूर्ण रहेको बताए।