महाधिवेशन छिटो गराउन कांग्रेस नेतृत्वमाथि नेविसंघको दबाब

447

काठमाडौं– नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरुले शीघ्र संघको महाधिवेशन गर्न पार्टी नेताहरुलाई दबाब दिन सुरु गरेका छन्।

सोमबार कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेका काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो संगठन नेविसंघको महाधिवेशन तत्काल गर्न माग गर्दै दबाब दिन सुरु गरेका हुन्।

नेविसंघलाई गतिशील बनाई क्याम्पसहरुको शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउन पनि छिटोभन्दा छिटो विधानसम्मत ढंगले तदर्थ समिति गठन गरी संघको महाधिवेशन सम्पन्न गर्न पार्टी नेताहरुलाई दबाब दिने अभियान सुरु गरिएको नेविसंघआवद्ध विद्यार्थी विनोदराज जोशीले बताए।

त्यसक्रममा विद्यार्थीहरुले नेविसंघको महाधिवेशन छिटोभन्दा छिटो सम्पन्न गराउन दबाब दिँदै कांग्रेस केन्द्रीय सदस्य एवम् नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरलाई अनुरोध पत्र पनि बुझाए।

यता, सो पत्र बुझ्दै कांग्रेस केन्द्रीय सदस्य महरले नेविसंघलगायतका भातृ संस्थाहरुको महाधिवेशन सम्पन्न गराउन आफूले नेताहरुलाई अनौपचारिक रुपमा दबाब दिँदै आएको र अब बस्ने केन्द्रीय समिति बैठकमा औपचारिक रुपमै छलफल गराउने प्रतिबद्धता जनाए।

कांग्रेसको विधान र संघीयताको भावना अनुसार भातृ संस्थाहरुको विधान मस्यौदा भएपनि पार्टीले स्वीकृति नदिएका कारण नेविसंघलगायतका भातृ संस्थाहरु पूरानै विधानमा चलिरहेका छन्।

जसका कारण गतिहीन हुन पुगेको संगठनलाई प्रभावकारी बनाई शैक्षिक क्षेत्रमा देखिएमा समस्या समाधानका लागि पनि छिटो भन्दा छिटो नेविसंघको महाधिवेशन गर्नुपर्ने त्यसमा आवद्ध विद्यार्थीहरुको माग छ।