काठमाडौं । संघीय समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराई र नेकपा एमालेका नेता डा. भीम रावलबीच एमसीसीका सम्बन्धमा जुहारी चलेको छ ।
सामाजिक सञ्जाल ट्विटरमा उनीहरुबीच जुहारी चलेको हो । नेता रावलले स्मृति पत्र लेखेर बाबुराम भट्टराईले गोप्यरुपमा एमसीसी सम्झौता गरेको उल्लेख गरेपछि नेता भट्टराईले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका थिए ।
उनले लेखेका थिए, “यि कणले पीएचडी गरेको भनेर नाउँको अगाडि डा. पनि झुन्ड्याउँछन् ! विद्यावारिधि गर्दा कसैबारे कुनै दाबी गरियो भने त्यसको स्रोत, मिति, स्थान खुलाउनपर्छ । उनले दावी गरेजस्तो बाबुरामले गोप्यरुपमा एमसीसी सम्झौता गरेको हो भने कहिले कहाँ कसरी खुलाउनुपर्दैन ? कि यि नक्कली पीएचडी हुन् ?”
डा. भट्टराईलाई जवाफ फर्काउँदै नेता रावलले लेखेका छन्, “बाबुरामजी प्रधानमन्त्री हुँदा २०६८ मा चुपचाप एमसीसीसँग पत्राचार गरी टोली गठबन गरिएको तथ्य मैले उल्लेख गरेको छु । त्यो बेला दलीय सहमतिबाटमात्रै त्यस्तो गर्न सकिन्थ्यो तर जानकारीसम्म गराइएन । पीएचडी नक्कली सीमा पारि हुने गरेको सधैँ चर्चा हुन्छ । त्रिविविबाट पीएचडी कसैको नक्कली हुने चर्चा नै हुन्न ।”