काठमाडौं– प्रतिनिधि सभाका सांसदहरुले केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको १२औं राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा तथ्यपरक नभएको भन्दै आपत्ति जनाएका छन्।
मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसकी सांसद प्रमिला राईले राज्यको उद्देश्य र जनताले चाहे अनुसार जनगणना नभएको उल्लेख गर्दै पुनर्गणना गर्न माग गरे।
एमालेका सांसद पाण्डेले काठमाडौंको जनगणनाको प्रारम्भिक नतिजा तथ्यपरक नहुनुको कारण स्पष्ट पार्न केन्द्रीय तथ्यांक विभागसँग माग गरे। उनले काठमाडौंमा सधैं बसाइँसराई बढिरहने तर त्यस अनुपातमा जनसंख्या घट्ने काम हुनै नसक्ने बताए।
कांग्रेस सांसद राईले सही तरिकाले जनसंख्याको तथ्यांक नआएको भन्दै पुनः जनगणना गर्न सरकारसँग माग गरिन्।
उनले विदेशमा गएको नेपालीहरुको जनगणना गर्ने कार्य योजना के छ? भनी केन्द्रीय तथ्यांक विभागलाई प्रश्न गरिन्। सांसद राईले गणकहरुलाई घरघरमा पु¥याएर तथ्यांक संकलन गर्ने काम नभएको अनुभूति सुनाउँदै आपत्ति जनाइन्।
केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै कोरोनाको असहज परिस्थितिका कारण जनगणनामा केही तलमाथि भएको हुन सक्ने बताए। उनले यो प्रारम्भिक नतिजा भएको र पूर्ण भएर आउँदा सबै तथ्य आउनेतर्फ पनि सांसदहरुको ध्यानाकर्षण गराए।
महानिर्देशक श्रेष्ठले जनगणनाको प्रारम्भिक नजिताको कामलाई विभागले इमान्दारिताका साथ समयमै सम्पन्न गराएको पनि दाबी गरे।