केही दिनभित्रै नेविसंघको महाधिवेशनबारे पार्टीले निर्णय लिन्छ : थापा

395

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनभित्रै नेपाल विद्यार्थी संघको महाधिवेशन गराउनेबारे पार्टीले आवश्यक निर्णय लिने बताएका छन् । यही शुक्रबार पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने तयारी भएको र त्यसले नेविसंघको महाधिवेशनबारे आवश्यक निर्णय लिने उनको भनाइ थियो ।

नेपाल विद्यार्थी संघका नेता, कार्यकर्तासँग मंगलबार पार्टी कार्यालय सानेपामा भएको भेटमा महामन्त्री थापाले महाधिवेशन सम्पन्न गराउने वातावरण बनाउने काममा लाग्न निर्देशन पनि दिए ।

महामन्त्री थापाले नेविसंघभित्र देखिएको समस्या समाधान गर्ने काम सोही संगठनको भएको उल्लेख गर्दै पार्टीको तर्फबाट त्यसका लागि आवश्यक निर्णय गर्न ढिलाई नहुने बताए । ‘केही दिनभित्रै हामी निर्णय गर्छौं । र, त्यो निर्णयलाई सबै साथीभाइले त्यसलाई साथ दिएर नेपाल विद्यार्थी संघलाई अधिवेशनमा लिएर जाने वातावरण बनाई दिनुहोस्, यतिनै आग्रह गर्दछु,’ उनले भने, ‘केन्द्रीय कार्यसम्पादन समितिमा भ्रातृ संस्था, शुभेच्छुक संस्थाहरु, यसमा एउटा एजेन्डा हुन्छ । त्यसको आधारमा निर्णय पनि हुन्छ । माघको १५/१६ मै निर्णय होस् भन्ने चाहन्थ्यौं । कोभिडका कारण बैठक बस्न सकेन । सम्भवत: यही शुक्रबार बस्छ होला । त्यसबारे निर्णय हुन्छ ।’

महामन्त्री थापाले विगतमा पार्टीले निर्णय गर्दा पनि नेविसंघभित्रकै समानान्तर गतिविधिका कारण महाधिवेशन हुन नसकेको पनि स्मरण गराए । त्यसक्रममा नेविसंघका नेताहरुले महाधिवेशन छिटो सम्पन्न गराएर क्याम्पसहरुको शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउने काममा सहयोग गरिदिन आग्रह गर्दै महामन्त्री थापालाई अनुरोध पत्र बुझाएका थिए ।