काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा हुने बताएका छन्।
बुधबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री शर्माले कांग्रेसको अब बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा गर्दै दिशानिर्देश गर्ने बताएका हुन्।
कार्यसम्पादन समितिको बैठकले सरकारको कामलाई अझ सुधार गर्दै गति बढाउनका लागि निर्देशन दिने उनले बताए।
जनताको जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरुमा सरकारलाई ध्यानाकर्षण गराउने उनको भनाइ छ।
कोभिड–१९ विरुद्धको खोप अभियानलाई महाअभियानकै रुपमा सञ्चालन गर्नका लागि पनि सरकारलाई घच्घच्याउने उनले बताए। त्यस्तै, कार्यसम्पादन समितिको बैठकले पार्टीको सबै तहलाई व्यवस्थित बनाउने र पार्टीका विभागहरु बनाउने दिशातर्फ अघि बढ्ने पनि महामन्त्री शर्माले बताए।
महामन्त्री शर्माले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार विशिष्ट परिस्थितिमा बनेको भन्दै जनताका सबै अपेक्षाहरु पुरा हुन नसक्ने पनि बताए।
सरकार संविधान अनुसार चलाउने, संविधान र संसदको रक्षा गर्ने, महामारीबाट जनताको जीवन रक्षा गर्ने र निर्वाचन सम्पन्न गराउने सन्दर्भमा सरकारको मुख्य दायित्व रहेको भन्दै सो अनुसार भए नभएको जनताले समीक्षा गर्नुपर्ने शर्माको भनाइ छ।
त्यसैगरी, केन्द्रीय कार्यसम्पादन समिति भातृ तथा शुभेच्छुक संस्थाहरुको महाधिवेशनको सम्बन्धमा पनि टुंगोमा पुग्ने उनको भनाइ छ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पार्टीको सबै तहमा कार्यसम्पादन समिति गठन हुने पनि शर्माले जानकारी दिए।
यसअघि भर्चुअल रुपमा बसेको कांग्रेसक केन्द्रीय कार्य समिति बैठकले ३७ सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति गठन गरेको थियो।