एमाले उपमहासचिव ज्ञवाली भन्छन्– एमसीसी विकास परियोजना हो, अनावश्यक द्वन्द्व निम्त्याउन खोजियो

476

काठमाडौं– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताका सन्दर्भमा सत्तारुढ गठबन्धनले भूराजनीतिक द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाएका छन्।

युवा संघले आयोजना गरेको स्थानीय तह निर्वाचन, संवैधानिक व्यवस्था र अबको राजनीति विषयक खुला बहस कार्यक्रममा बोल्दै ज्ञवालीले एमसीसी विकास परियोजना भएको बताए।

‘अहिले मुलुक अप्ठ्यारो स्थितिमा छ। यही बेला सत्तामा रहनुभएका नेताहरु जानी जानी एकखालको भू–राजनीतिक द्वन्द्व निम्त्याउदै हुनुहुन्छ,’ ज्ञवालीले भने।

उनले एमसीसी एउटा विकास परियोजना भएको भन्दै अहिले जानी जानी भू राजनीतिक प्रतिस्पर्धाको विषय बनाउने काममा सत्ता गठबन्धनका नेताहरु लागि रहेको बताए।

ज्ञवालीले एमाले कसैको बैशाखी टेकेर चुनावमा नजाने भन्दै एक्लै लड्न तयार रहेको बताए। ‘स्थानीय तहको निर्वाचन समयमा नै हुनुपर्छ। एमाले एक्लै लड्छ। चुनाव सामना गर्न कसैको बैशाखी टेक्नुपर्ने जरुरत छैन। एक्लै लड्न तयार छ,’उनले भने,‘हामी कसैलाई काँधमा बोकेर हिँड्ने अवस्थामा छैन,’ ज्ञवालीले भने।

कार्यक्रममा सहभागी रहेका कांग्रेस नेता मिनेन्द्र रिजाललाई संकेत गर्दै उनले नेपाली राजनीतिको फोहोर सुधार्नका लागि भए पनि आगामी तीनै तहका निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले एक्लाएक्लै लड्नुपर्ने धारणा राखे।

‘यो त्यसै पनि अपवित्र गठबन्धन हो। योसँग एमालेलाई कुनै खालको भय छैन,’उनले भने।

उनले स्थानीय तहको निर्वाचन नगर्नका लागि संविधानभित्रको छिद्र पैलाउने काम भइरहेको बताए। ‘स्थानीय तहलाई कमजोर बनाउनका लागि हिजोदेखि नै विभिन्न काम भए। अहिले पनि केही शक्ति स्थानीय तहलाई त्यस्तै बनाउन खोजिरहेका छन्,’ उनले भने।