काठमाडौँ ।
प्रजातन्त्रवादी प्राध्यापक संघ केन्द्रिय समितिले संस्कृत शिक्षाको अनुसन्धानको केन्द्र बनाउने उद्देश्यले स्थापना भएको नेपाल संस्कृत विश्वविद्यालय निरन्तर प्राज्ञिक उन्नतिमा केन्द्रित होस् भनी यहाँको प्रशासन, प्राध्यापक र विद्यार्थी वर्गको सौहार्दपूर्ण वातावरण कायम रहिरहोस् भन्ने प्रमुख मान्यता रहीआएको बताएको छ ।

संघका महासचिव राजेन्द्र गौतमले प्रेस विज्ञप्ति जारी गर्दै संस्कृत शिक्षाको विकासकालागि प्राज्ञिक क्रियाकलापमा केन्द्रित हुनुपर्नेमा नेपाल संस्कृत विश्वविद्यालयको वर्तमान नेतृत्व त्यसतर्फ गम्भीर नभई राजनीतिक पूर्वाग्रहका आधारमा आफ्ना गतिविधि अघि बढाएको प्रति प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालको केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
विज्ञप्तीमा भनिएको छ , भ्रष्टाचारको आरोपसमेत लागिसकेको विश्वविद्यालयको वर्तमान नेतृत्वले विश्वविद्यालयका सरोकारवालापक्ष प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूसँग समन्वय र सहकार्य नगरी एकलौटी ढङ्गले अगाडि बढी विश्वविद्यालयको गरिमा र प्रतिष्ठामा समेत आँच पुर्याउन थालेकाले तत्काल विश्वविद्यालयको नेतृत्वलाई कानुन बमोजिम आवश्यक निर्देशन दिन र नियमन गर्न कुलपति सम्माननीय प्रधानमन्त्रीज्यू, सहकुलपति माननीय शिक्षामन्त्रीज्यू तथा विश्वविद्यालय अनुदान आयोग समक्ष अनुरोध गर्दछौं ।

विश्वविद्यालयमा कार्यरत शिक्षक कर्मचारीको वृत्तिविकास,पदोन्नतिका लागि विश्वविद्यालयको कार्यकारी परिषदको निर्णय बमोजिम प्राध्यापक ध्रुव ज्ञवालीको अध्यक्षतामा गठित अध्ययन तथा छानबिन समितिको प्रतिवेदनको कार्यान्वयन गर्न सो बमोजिमको विज्ञापन तत्काल सातदिन भित्र खोल्न जोडदार माग गर्दछौं ।

उपप्राध्यापक र कर्मचारीको खुल्ला विज्ञापनको सन्दर्भमा विश्वविद्यालयको आवश्यकता र औचित्य हेरी विशेष समिति गठन गरी अध्ययन गराई सोको सिफारिस प्रतिवेदनकोे आधारमा मात्र अत्यावश्यक ठाउँमा पदपूर्ति गर्ने व्यवस्था गर्न माग गर्दछौं ।

साथै विश्वविद्यालय सञ्चालनका निम्ति विगतमा हुँदै आएका सहमतिहरू उल्लङ्घन गर्दै पूर्वाग्रहका आधारमा निरङ्कुश शैलीमा एकलौटीढंगले विश्वविद्यालयको नेतृत्व अझपनि अगाडि बढेमा आइपर्ने जुनसुकै अप्रिय परिणामको जिम्मेवार वर्तमान नेतृत्व हुने प्रति सचेत गराएको प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रिय सचिव विष्णु पोख्रेलले जानकारी दिनुभयो ।