राष्ट्र बैंकले बैंकहरुसँग किन माग्यो ७ लाख रुपैयाँभन्दा माथिको कारोबार गर्ने ग्राहकको विवरण?

518

काठमाडौं– नेपाल राष्ट्र बैंकले मंगलबार (माघ १८) वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई सम्बोधन गर्दै एउटा पत्र काट्यो। पत्रमा सात लाख रुपैयाँभन्दा बढी नगद कारोबार गर्ने ग्राहकहरुको सम्पूर्ण विवरण पठाउन बैंकहरुलाई भनिएको छ।

राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागद्वारा जारी पत्रमा लेखिएको छ- ‘विभागको सम्पत्ति शुद्धीकरण अनुगमन एकाइले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको अवस्थाका विषयमा स्थलगत तथा गैरस्थलगत सुपरीवेक्षण गर्दै आएको विदितै छ, सोही सन्दर्भमा त्यस बैंकबाट २०७८ साउन १ गतेदेखि पुस ३० गतेसम्म प्रति कारोबार सात लाख रुपैयाँभन्दा बढी नगदमा भएका कारोबारहरुको विवरण तोकिएको ढाँचामा विभागको इमेलमा माघ २४ गतेभित्र उपलब्ध गराइदिनू।’

राष्ट्र बैंकले उक्त पत्रमा सात लाखसम्म नगद कारोबार कति दिनसम्म भएको हो? कस्तो कारोबारको गर्ने कारोबारीको विवरण माग गरिएको हो केही स्पष्ट पारेको छैन। राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार उक्त तथ्यांक बैंकिङ क्षेत्रमा हुने अनैतिक कारोबारको निगरानी राख्नका लागि मागिएको हो। उनी भन्छन्, ‘बैंकमा हुने स-साना कारोबारहरु पनि गैरकानुनी भइरहेका हुन्छन्। यसकारण कुन बैंकबाट कुन ग्राहकले कुन सन्दर्भमा कस्तो कारोबार गरिहेको छ, त्यसको अनुसन्धान गर्न राष्ट्र बैंकले विवरण मागेको हो।’

पोखरेलले राष्ट्र बैंकले बेलाबेलामा यस्तो खालको अध्ययन गर्ने गरेको प्रस्ट पारे। उनी भन्छन्, ‘राष्ट्र बैंकले विभिन्न समयमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई आफूले चाहेको अवस्थामा विभिन्न तथ्यांक तथा सूचनाहरु उपलब्ध गराउन भनेको हुन्छ। यसमा बैंक तथा ग्राहकलाई असर गर्ने खालको कुनै पनि कुरा हुँदैन। राष्ट्र बैंकले आफ्नै प्रयोजनका लागि पनि यस्तो तथ्यांक संकलन गरेको हुन्छ।’

यता बैंकका ग्राहकहरुमा भने राष्ट्र बैंकले यस्तो विवरण किन माग्यो? राष्ट्र बैंकले उनीहरुको विवरण मागेर के गर्न खोजेको हो? एक दिनमा १० लाख रुपैयाँसम्मको कारोबार गर्न पाउने व्यवस्था हुँदा-हुँदै किन सात लाख रुपैयाँसम्मको विवरण माग गरिएको हो भन्ने प्रश्न उठाएका छन्। तर, राष्ट्र बैंकका सहप्रवक्ता पोखरेलले भने अहिले यसै कामको लागि यो अनुसन्धान गरिएको हो वा विवरण माग गरिएको हो भनेर खुलाउन चाहेन।

हामीले विवरण माग गरेर यो नै गर्छौं भनेर अहिले नै भन्दैनौं, यसको प्रयोजन के भन्ने विषयमा पनि खुलाउन मिल्दैन। हामीले बैंकहरुलाई विभिन्न सूचना माग गरिरहेका हुन्छौं, ती सूचना माग गर्नुको आ-आफ्नै प्रयोजन हुन सक्छन्,’ उनले भने। पोखरेलका अनुसार अब राष्ट्र बैंकले प्रत्येक ग्राहकले कुन क्षेत्रमा लगानी गर्दै छ? बैंकमा गरेको बचतको स्रोत के हो? भन्ने लगायतका विषयमा सूक्ष्म निगरानी तथा अध्ययन गर्दै छ।

पछिल्लो समय क्रिप्टोकरेन्सी, हाइपर फण्डलगायतका ‘भर्चुअल करेन्सी’मा लगानी भइरहेको भन्दै राष्ट्र बैंकले यस विषयको अध्ययन तथा निगरानी गर्न बैंकहरुसँग यस्तो विवरण माग गरेको हुनसक्ने सरोकारवालाहरुको बुझाइ छ।

पोखरेल भन्छन्, ‘राष्ट्र बैंकले ७ लाखभन्दा बढी नगद कारोबार गर्ने ग्राहकको नाम, खाता नम्बर, कारोबार गरेको रकम, कहिले र किन निकालेको हो, लगायत सबै विवरण राष्ट्र बैंकमा पठाउनू भनेर बैंकहरुलाई पत्राचार गरेको हो।’

राष्ट्र बैंकको व्यवस्था अनुसार हाल दैनिक १० लाख रुपैयाँभन्दा बढीको नगद कारोबार गर्न पाइँदैन। यसबाहेक शंकास्पद कारोबारसम्बन्धी वित्तीय जानकारी बैंक तथा वित्तीय संस्थाहरुले अनिवार्यरुपमा राष्ट्र बैंकको सम्पत्ति शुद्धीकरण अनुगमन एकाइमा जानकारी दिनुपर्ने प्रावधान रहेको प्रवक्ता पोखरेलले बताए।