प्युठानमा बेहुली लिएर फर्किंदै गरेको जिप दुर्घटना, ८ जनाको मृत्यु

468

प्युठान, २२ माघ । प्युठानको गौमुख गाउँपालिकास्थित ओखरपाटामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

बेहुली लिएर फर्किंदै गरेको ग १ ज ५०९२ नम्बरको जिप दुर्घटना हुँदा ८जनाको मृत्यु भएको छ । दुर्घटनास्थलमै ६ जना र उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा थप दुई जनाको मृत्यस भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका डिएसपी सत्यनारायण थापाले जानकारी दिए । मृतक र घाइतेको सनाखत भइसकेको छैन ।

जिप नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्किंदै गर्दा शनिबार बिहान ३ बजे दुर्घटना भएको डिएसपी थापाले बताए । सदरमुकामभन्दा टाढा भएकोले घटनाको सबै विवरण आइनसकेको उनको भनाइ छ । घाइतेहरूलाई जिल्ला अस्पताल लिइएको डिएसपी थापाले बताए । घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको जानकारी पाएको उनले बताए । घटनास्थल इलाका प्रहरी कार्यालय पुजा निवासीबाट पनि १५ किलोमिटर टाढा रहेको छ । जिप बेहुलाको घर नजिकै आउँदा दुर्घटना भएको हो ।