पाणिनी तपोभुमिमा हिउँ खेल्नेको भीड

1010

घनश्याम पौडेल
अर्घाखाँची, २२ माघ । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. १ र २ को सिमानामा रहेको पाणिनी तपोभुमिमा हिउँ परेसँगै हिउँ खेल्नेको भिड लागेको छ । पाल्पा र अर्घाखाँचीको सीमा तीनगिरे, पाणिनी तपोभुमि दहमा हिउँ खेल्नेको भीड लागेको स्थानिय नन्दराम पोख्रेलले बताए ।

तपोभुमि दहमा शुक्रबारदेखि नै बाक्लो हिमपात भएको थियो । यहाँ हिउँमा रमाउन बिहानैदेखि भीड लागेको तानसेनबाट हिउँ खेल्न आएका कमल पौडेलले बताए । ‘हिमपात तल्लो क्षेत्रमा पनि भएको थियो,’ उनले भने, ‘बिस्तारै पग्लिँदै गएकाले अहिले तल्लो भागमा कमी आएको छ ।’

पाणिनी तपोभुमि दहसँगै पाल्पाको तीनगिरे, काफलबुटा, डाँडाकटेरी, अर्घाखाँचीको नरपानी, खाँची, धातिवाङको लहरे, मालारानीको गोखुंगा, मालारानी मन्दिर लगाएत अर्घाखाँचीका विभिन्न ठाउँमा बाक्लो हिमपात भएको छ । जिल्लाका विभिन्न स्थानमा भएको हिमपातका कारण जनजीवन प्रभावित भएको छ ।

जिल्लाको उच्च भूभागमा पर्ने हिउँ परेपछी सदरमुकाम सन्धिखर्क तथा गाउँगाउँबाट स्थानिय पर्यटकहरु हिउँ खेल्न उच्च भुभागमा पुगेका छन् । हिमपातले सडकमा समेत असर परेको छ । ‘सवारी साधन पुग्न नसकेपछि आधा एक घण्टा पैदल हिँडेर पनि हिउँ खेल्न पुग्ने गरेका छन् । ‘नजिकमा हिउँ खेल्न पाएको भन्दै रमाइरहेका छन् ।’ स्थानीयका अनुसार हिमपातले चिसो बढेका कारण बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीलाई समस्या भएको छ ।