ओलीमा राजाको भाषा ह्वास्सै गन्हायो : प्रचण्ड

276

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीले राजाकै भाषा प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन् ।

मंगलबार राजधानीमा आयोजित प्रेस संगठन, नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटनको निर्णय गरेको भन्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले ओलीले फेरि देशलाई निरंकुशतातिर धकेल्ने प्रक्रियाको सुरुवात गरेको आरोपसमेत लगाए ।

‘यो राजतन्त्र पुनर्स्थापित गर्ने, निरंकुशतातिर धकेल्ने प्रक्रियाको सुरुवात भएको छ । यसलाई हर मूल्यमा रोक्नु पर्छ’, प्रचण्डले भने, ‘प्रधानमन्त्री ओलीमा राजाकै भाषा ह्वास्स गन्हाएको छ ।’

ओलीले प्रतिक्रान्तिको योजना अगाडि सारेको भन्दै उनले यसलाई जसरी भए पनि असफल पार्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले पुस ५ गते चालेको कदम प्रतिनिधिसभा विघटन मात्र नभएर संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र शान्ति प्रक्रियालाई भंग गर्दै देशलाई दुर्घटनातिर लाने प्रक्रियाका लागि भएको आरोप प्रचण्डको छ ।

प्रचण्डले आफैंले प्रधानमन्त्री बनाएको पार्टीकै मान्छेले आफैंले जन्माएको बच्चाको हत्या गर्न लागेकाले त्यसलाई रोक्न आन्दोलन गर्नु परेको बताए। अन्नपुर्णबाट