काठमाडौँ, ९ जेठ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनक रहेको बताएका छन् । उनले पार्टीले अन्य दलसँग गठबन्धन गरे पनि आफ्नै संगठन मजबुद बनेका कारण धेरै ठाउँमा पार्टीले जित्न सकेको बताए । ‘स्थानीय तह निर्वाचनको परिणाम लगभग आइसकेको छ ।
छिटपुटबाहेक मतगणना सकिएको छ,’ उनले भने, ‘नेपाली कांग्रेसले प्राप्त गरेको परिणाम सन्तोषजनक नै छ । गठबन्धनका कारण गठबन्धनका अन्य दलले पनि उल्लेख्य जित हासिल गर्नुभएको छ ।’
प्रवक्ता महतले चुनावमा प्राप्त परिणामले नेपाली कांग्रेस र गठबन्धन दलहरूसमेत सन्तुष्ट रहेको बताए । ‘यो चुनावको परिणामले गठबन्धनको अगाडिको मार्गचित्र समेत प्रस्ट गरेको छ । यो परिणामबाट कांग्रेसको नेतृत्व सन्तुष्ट छ । गठबन्धनका शीर्ष नेताहरू समेत सन्तुष्ट हुनुहुन्छ भनेर मैले बुझेको छु,’ उनले भने ।
उनले पार्टीभित्र अन्तर्घात ठूलो समस्याको रुपमा देखिएको बताए । ‘हाम्रो पार्टीमा अन्तर्घातको समस्या पुरानै हो । त्यो अहिले पनि देखियो ।
हामी पार्टीमा भएको अन्तर्घातबारे पार्टीमा छलफल गरेर अघि बढ्छौं ।’
उनले बाजुराको बुढीगंगासहित रोकिएका ठाउँमा यथाशीघ्र पुनः मतदान गराउने वातावरण बनाउन निर्वाचन आयोगसँग माग गरे ।