टोपबहादुर रायमाझीसँग स्वतन्त्र उम्मेदवार कलाकार दुर्गा बन्जाडे चुनाव लड्ने, काँग्रेसमा आकाक्षीं दर्जनौ

1452

अर्घाखाँची, ६ असार । भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा काठमाडौं महानगरमा बालेन शाह, धरान उपमहानगरमा हर्क राई, धनगणि उपमहानगरमा गोपाल हमाल जस्ता स्वतन्त्र उम्मेदवार विजयी भएपछि नेपाली राजनीतिमा स्वतन्त्र उम्मेदवार उठे जितिन्छ भन्ने चासो बढेको छ।

पछिल्लो समय आगामी संघीय र प्रदेशसभाको चुनावको मिति घोषणा नहुँदै विभिन्न व्‍यक्तिहरूले चुनावमा लड्ने घोषणा गर्न थालिसकेका छन्। अर्घाखाँचीमा पनि स्वतन्त्र उम्मेदवारले उम्मेदवारी घोषणा गरेका छन् । ३ वर्षदेखि काठमाडौंमा बसेर कलाकारिता क्षेत्रमा पहिचान बनाएका अर्घाखाँचीका दुर्गा बन्जाडेले पनि प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन्। उनले भद्रगोल, गोलमाल, ख्याल ठट्टालगायत टेलिसिरियलहरूमा अभिनय गर्दै आएका छन्। बन्जाडेले विभिन्न टेलिसिरियलमा गरेको अभिनयलाई दर्शकले पनि रुचाएका छन्।

कलाकार बन्जाडेले एउटा मात्र क्षेत्र रहेको अर्घाखाँचीबाट आफू चुनाव लड्न लागेको सामाजिक सञ्जाल मार्फत बताएका छन्। चुनावी मैदानमा नेताहरू जनतालाई चिल्ला भाषण दिने र दिएका बाचा अधुरै राख्ने भएकाले त्यसलाई पूरा गर्न आफूले स्वतन्त्र उम्मेदवारी दिने लागेको बन्जाडेले बताए।

अर्घाखाँचीको यो क्षेत्रबाट २०७४ मा तत्कालीन माओवादी केन्द्रबाट टोपबहादुर रायमाझीले जितेका हुन्। ०७४ मा रायमाझीले माओवादी केन्द्रबाट निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डा. रामबहादुर बिसीलाई १८ हजार ४ सय ४४ मत अन्तरले पछि पार्दै विजयी बनेका थिए। रायमाझीले ५० हजार ३ सय ८५ मत प्राप्त गरेका थिए भने विसीले ३१ हजार ९ सय ४१ मत ल्याएका थिए। नेकपा विभाजनपछि रायमाझी एमालेमा गएका हुन ।

हाल रायमाझी नेकपा एमालेका केन्द्रीय सचिव हुन्। उनले यस क्षेत्रमा आफूलाई पराजित गराउने तागत कसैको नभएको दाबी गर्दै आएका छन्। यता, कलाकार बन्जाडेले पनि आफ्नो गाउँ ठाउँ, जिल्लाको विकास र मुहार फेर्नका लागि आफूले उम्मेदवारी घोषणाको तयारी गरेको बताएका छन्। यस क्षेत्रबाट आफूले जनताको मन जितेर काम गर्ने बताउँदै आफूलाई कुनै शक्तिले रोक्न नसक्नेसमेत उनले दाबी गरेका छन् । नेपाली काँगेसमा दर्जनौ आकाक्षीं देखिएका छन् । काँग्रेसका आकाक्षींहरु टिकट माग्न काठमाडौंमा धाईरहेका छन् ।