शिवलाल पौडेल
माघ /०७ , काठमाडौ

वि.सं २०७७ सालको पञ्चाङ्ग २०७६ सालको पौष महिनामा वजारमा आउनाले सर्वसाधारण जनताले ठूलोे राहतको महशुश गरेका थिए । पौषमै २०७८ को पात्रो वजारमा आउँछ भन्ने आशा गरिएको थियो । बृहस्पति र शुक्रको अस्तका कारण विवाह व्रतवन्धको मुहूर्त नहुँदा २०७७ को माघ फागुनमा विवाह व्रतवन्ध गर्न तयार रहेका व्यक्तिहरू २०७८ सालको वैशाखमा पुग्न बाध्य भएका छन् । हाल अधिकांश व्यक्तिहरू विदेशमा रहने गरेको सबैमा विदितै छ यस्तो अवस्थामा वैवाहिक कार्यक्रम नेपालमा गर्न ३।४ महिना अघिनै विदा स्वीकृत, स्वदेशफिर्ताका लागि टिकट बुकिङ्ग गर्नुपर्ने हुन्छ ।

नेपालमा रहेका व्यक्तिहरूले पनि विवाह, व्रतवन्ध कार्यक्रमका लागि होटल, पार्टी प्यालेस ३ महिना अगावै बुक गर्नुपर्ने हुन्छ । समयमै पात्रो प्रकाशन नहुदा जनतालाई प्रत्यक्ष असर परेको छ । यसवर्ष माघको पहिलो हप्तासम्म २ पटक मात्रै पञ्चाङ्गकारहरूको अनौपचारिक छलफल भएको तर पात्रोको कुनै निर्णय भएको छैन भनेर सुन्दा हामी आश्चर्यचकित भएका छौं ।

पात्रोको निर्णय गरी पञ्चाङ्गकारलाई प्रकाशनको स्वीकृति दिएपछि पनि प्रेसमा छपाई गरी बजारसम्म पुर्याउन १ महिनाको समय लाग्छ । यस्तो संवेदनशिल विषयमा ‘किन ढिलो भएकोछ’ भनेर पञ्चाङ्ग निर्णायक समितिमा बुझदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पहलमा पञ्चाङ्ग निर्णायक समितिको गठन आदेश नेपाल सरकारबाट पारित गरिएको थाहा भएको छ । गठन आदेश पारित गरिनु स्वागत योग्य भएपनि पञ्चाङ्ग निर्णय गर्न ढिलाई हुने वातावरण सम्वन्धित मन्त्रालयले गर्न हुनेथिएन । २०७७ मा नयाँ नियम आएकै कारणले होला मौजुदा निर्णायक समितिले पञ्चाङ्ग स्वीकृत गरी प्रकाशनको व्यवस्था गर्नुपर्नेमा तर त्यसो नगरी निर्णायक समिति नै निस्क्रीय रहेको देखिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस्तो संवेदनशील विषयमा कुनै चासो नलिएको देखिएको हुँदा नेपाल ज्योतिष परिषद् केन्द्रीय समिति, दक्षिण एशियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपाल, विश्व ज्योतिष महासंघ, राष्ट्रिय समिति नेपाल संस्थाहरूको गम्भीर ध्यानाकर्षण भएकोछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यथाशीघ्र २०७८ सालको पञ्चाङ्ग (पात्रो) प्रकाशनको व्यवस्था मिलाइ स्वीकृत गर्न नेपाल पञ्चाङ्ग निर्णायक समितिलाई सक्रिय पार्न साथै सहजीकरण गरी पात्रो प्रकाशनको व्यवस्था गर्न अपिल गरिएको नेपाल ज्योतिष परिषद् केन्द्रीय अध्यक्ष माधवराज पाण्डेले जानकारी दिनुभयो ।।