प्रदेश एकमा काँग्रेसका राजीव कोइराला र बागमतीमा इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने सम्भावना !

512

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका ओली पक्ष र प्रचण्ड–माधव नेपाल पक्षबिच पार्टी फुट भएपछि प्रदेश सरकारमा पनि असर परेको छ । पार्टी फुटको प्रत्यक्ष फाईदा काँग्रेसले लिने दाउँमा रहेको छ । प्रदेश नम्बर १ र बागमती प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविस्वासको पस्ताव दर्ता भएसँगै मुख्य निर्णायक काँग्रेस बन्ने भएको छ ।

सरकारको प्रमुख प्रतिपक्षी दल समेत रहेको काँग्रेसले प्रदेशहरुमा सत्ता समीकरणका सन्दर्भमा छलफल थालेको स्रोतले जनाएको छ । प्रदेश नम्बर १ र बागमती प्रदेशमा ओली समुह र प्रचण्ड–नेपाल समूहले सत्ता सहकार्यका लागि काँग्रेसका सभापति शेरबहादुर देउवालाई आग्रह गरेपछि देउँवाले पार्टीभित्र आन्तरिक छलफल सुरु गरेका छन् ।

प्रचण्ड–नेपाल समूहले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई र वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता गराएको अविश्वास प्रस्तावका सम्बन्धमा काँग्रेस मुख्य निर्णायक भुमिका रहने छ । नेकपाभित्रको विवादमा काँग्रेसको भूमिका निर्णायक हुने देखिन्छ ।

नेकपा ओली पक्ष र प्रचण्ड–माधव नेपाल पक्षमा प्रदेश सरकार फेरबदलका लागी अविश्वासको प्रस्ताव दर्ता भएसँगै काँग्रेसले दुईवटै प्रदेशको नेतृत्व आफैले गर्नेगरी रणनितीमा काँग्रेस जुटेको स्रोतले जनाएको छ ।

काँग्रेसले दुईवटै प्रदेशमा मुख्यमन्त्रीको नेतृत्व गर्नका लागी रणनिती बनाएतापनि नेकपाको केपी ओली पक्ष र प्रचण्ड–माधव नेपाल पक्षले काँग्रेसलाई प्रदेश नम्बर १ र बाग्मतीमध्ये एउटामा मुख्यमन्त्रीको प्रस्ताव राखेको छ ।

प्रदेश नम्बर १ र बाग्मती प्रदेशमा नयाँ सरकार गठन गर्न वा अविश्वासको प्रस्ताव सामना गर्न दुवै पक्षलाई प्रमुख प्रतिपक्ष काँग्रेसको साथ अनिवार्य बनेको छ । प्रदेश १ का ९३ सांसद छन । जसमध्ये ओली पक्षमा मुख्यमन्त्री शेरधन राईलाई सरकार बचाउन आफ्नो पक्षमा ४७ सांसद आवश्यक पर्छ । प्रदेश १ मा ६७ सांसद रहेका छन ।

शेरधन राईलाई सरकार टिकाउन १४ जना सांसद आवश्यक रहेको छ । प्रचण्ड–नेपालका भीम आचार्यलाई मुख्यमन्त्री बन्न १२ सांसदको समर्थन खाँचो छ ।
अविश्वासको प्रस्ताव दर्ता गराउने प्रचण्ड—नेपाल पक्षका ३५ सांसद छन् भने ३२ जना सांसद ओली पक्षमा उभिएको पाइन्छ । प्रस्ताव दर्ता भएपछि नेकपा ओली पक्ष र प्रचण्ड माधव पक्षका एक दुई जना सांसदले समूह अदल–बदल गरेपनि काँग्रेसको साथ विना दुवै समूहले सरकार जोगाउन र बनाउन सक्ने अवस्था छैन । प्रदेश– १ मा नेकपा विभाजन हुँदा २१ सांसद रहेको काँग्रेस निर्णायक रहेको छ ।

१ सय १० सांसद रहेको बागमती प्रदेशमा सरकार जोगाउन र बनाउन ५६ सांसदको आवश्यक पर्छ । ओली पक्षसँग ३६ सांसद देखिएका छन् भने प्रचण्ड–नेपाल ४४ सांसद छन् । पछिल्लो सिमय प्रचण्ड–नेपाल तीन सांसद ओली पक्षतिर र ओली पक्षका एक सांसद प्रचण्ड–नेपाल समूहतिर लागेका अवस्था छ । बागमतीमा पनि २२ सांसद रहेको काँग्रेस निर्णायक देखिएको छ ।

बागमती र प्रदेश नम्बर १ मा प्रदेशसभाको अबको बैठकमा अविश्वासको प्रस्तावमाथि छलफल हुने छ । नेकपा विभाजनमाथि काँग्रेसको रणनीति सफल भएमा दुबै प्रदेशका काँग्रेसका मुख्यमन्त्री बन्न सक्ने सम्भावना रहेको छ । प्रदेश नम्बर १ काँग्रेस संसदिय दलका नेता राजीव कोइराला र बागमती प्रदेश काँग्रेस संसदिय दलका नेता इन्द्र बानियाँ मुख्यमन्त्री बन्न सक्ने अनुमान रहेको छ ।